देश/प्रदेश
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो

काठमाडौं, कात्तिक १२-
निर्धारित समयभन्दा तीन वर्षबढी बितिसक्दा पनि निर्माणले गति लिन नसकेपछि मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता अन्त्य गरिएको छ । २७ करोड २२ लाख रुपैयाँ लागतको उक्त सडक निर्माणमा पटक–पटक म्याद थप्दा पनि भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएपछि सडक डिभिजन इलामले ठेक्का तोडेको हो ।
मेची करिडोर(केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पर्ने ९.५ किलोमिटर सडक स्तरोन्नतिको काम २०८० पुस २९ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर, निर्धारित समयभित्र काम पूरा नभएपछि पटक–पटक म्याद थप गरिएको थियो । त्यसका बाबजुद निर्माणले गति लिन नसकेको र पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन इलामले जनाएको छ ।
सडक डिभिजनले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सडक निर्माणको ठेक्का आरडीआईएलएएम/३३७०११७५४–०७७/७८–५७ नम्बरमा सम्झौता भएको थियो । निर्माणको जिम्मा काठमाडौंको जे।भी। खड्का कृष्ण–मक्षामले पाएको थियो ।
सडक डिभिजन इलामले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको जनाएको छ । ठेक्का अन्त्य गरिएका आयोजनामा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ । त्यस्तै, ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।
ठेक्का सम्झौता अन्त्य गरिएको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक खण्डको निर्माणलाई निरन्तरता दिन नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ । त्यसका लागि आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी पुनः निर्माण प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
मेची करिडोर पूर्वी नेपालको सडक सञ्जालका लागि महत्त्वपूर्ण मार्ग हो । यसअन्तर्गतको सडक स्तरोन्नति समयमै सम्पन्न हुन नसक्दा आयोजना कार्यान्वयनमा ढिलाइ भएको छ । अब नयाँ ठेक्का प्रक्रियामार्फत बाँकी निर्माण कार्य अघि बढाउने सरकारको तयारी छ ।
























