देश/प्रदेश
बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर कैदी भागेपछि..

गण्डकी, कात्तिक १२ –
कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय व्यतित गरिरहेका कैदी भागेको घटनाले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ ।
गत असोज ३१ गते राति २ः०० बजेतिर पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय कैदी सन्तोष जलारी बिजुली मर्मतका लागि कारागारमा लगिएको भर्याङ चढेर भागेका थिए ।
कारागारबाट फरार जलारीलाई प्रहरीले कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कैदी जलारी योजनाबद्ध रुपमा भागेको बताउनुभयो । “बिजुली मर्मतका लागि राखिएको भ¥याङ चढेर भागेको पाइएको छ, एक महिनादेखि कारागारबाट भाग्ने योजना बनाएको अनुसन्धानका क्रममा जलारीले बताएका छन्”, उहाँले भन्नुभयो ।
जलारीले कारागारभित्र पसलसमेत चलाएर बस्ने गरेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । कारागारको सुरक्षार्थ खटिएको प्रहरी र कैदीका नाइकेको प्रयाप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको उहाँको भनाइ छ ।
“भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भ¥याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ”, प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “उनले नाइके र अरु कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ ।”
कारागारबाट यसरी कैदी भागेका घटना बिरलै हुने गरेको भन्दै उहाँले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष रुपले ध्यान यस घटनाले सम्बद्ध पक्षलाई झकझक्याएको बताउनुभयो ।
कारागारका जेलर घनश्याम गौतमले भोलिपल्ट बिहान मात्र कैदी गणनाका क्रममा जलारी भागेको थाहा भएको बताउनुभयो । कैदी भागेको घटनापछि कारागारको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न र चासो व्यक्त हुनु स्वभाविक भएको उहाँको भनाइ छ ।
भागेका कैदी जलारी प्रहरीको सक्रियतामा दुई दिनमै नियन्त्रणमा आएको जेलर गौतमले बताउनुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । “ज्यान र डाँका मुद्दामा २५ वर्ष कैद सजाय पहिलेकै छ, पछिल्लो मुद्दामा थप पाँच वर्ष जेल सजाय हुन सक्छ”, उहाँले भन्नुभयो ।
























