Breaking News

गौतमबुद्ध क्रिकेट रंगशालाः लागत र काम दुवै बढ्यो, ६ महिना म्याद थपको तयारी

स्ट्रक्चरको काम सक्न १ प्रतिशत मात्रै बाँकी

०
Banner

चितवन, कार्तिक ११–

चितवनको भरतपुर महानगरपालिका वडा नं.१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको समयावधि सकिनै लाग्दा रंगशालाको बल्ल पहिलो भेरियसन अर्डर (भिओ) गत असोज २८ मा स्वीकृत भयो । निर्माण कम्पनीले गतवर्ष माघ १४ गते नै निर्माणको क्रममा देखापरेको क्वानटीटी भेरियसनका लागि पठाए पनि अहिले बल्ल स्वीकृत भएको हो । भेरियसन अर्डर भनेको निर्माणको क्रममा भएका थपघट कामको पूर्ण विवरण हो । स्टिमेट भन्दा कुनै ठाउँमा बढी सामग्री लगाउनु पर्ने हुन्छ भने कुनैमा घटाउनु पर्ने । यी सबै कामको मूल्यांकन नै भेरियसन अर्डर हो । जसका कारण लागत घटबढ हुनुको साथै काम पनि थपिएको हुन्छ ।

यहीँ भेरियसन अर्डर स्वीकृत पश्चात रंगशालाको लागत ९.८६ प्रतिशत वृद्धि भएको छ ।सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसले लागत मात्र वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यस कारण पनि सम्झौता अनुसारको समयमा निर्माणको काम नसकिने निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले नारायणी अनलाइनलाई जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्ने समय आउँदो पुस २७ गते सकिदैछ । तर यो अवधिमा रंगशालाको निर्माणको काम भने सम्पन्न नहुने निश्चित जस्तै छ । निर्माणको समयावधि सकिन अब साढे २ महिना मात्रै बाँकी छदा रंगशालाको भौतिक प्रगति ६० प्रतिशत मात्रै पूरा भएको छ । निर्माण सामग्रीको मूल्य वृद्धि, बजेटको निकासीमा ढिलाई, मौसम परिवर्तन, पुराना संरचनामा निर्माणलगायतका कारणले समयमै निर्माण काम गर्न नसकिएको निर्माण कम्पनी हिमालयन–कालिञ्चोक बीबीआर जेभीले जनाएको छ । ‘पुरानो संरचनामा निर्माण कार्य गरिएकोले प्राविधिक निर्णयहरु एकआपसमा बाझिदा निर्माणमा पनि समस्या आयो, विश्व राजनीतिमा भइरहेको टकरावका कारण यहाँका निर्माण सामग्रीमा आएको मूल्य वृद्धिले पनि हामीलाई काम गर्न समस्या भयो’ निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले भने ।

रंगशालाको सम्पूर्ण कामको स्ट्रक्चर, प्लम्बिङ, इलेक्ट्रिकल, मोट कभर, फेन्सिङ, ट्रसको भौतिक प्रगती ६० प्रतिशत सम्पन्न भएको छ । सम्पूर्ण कामको शतप्रतिशत मध्ये ५१.४९ प्रतिशत स्ट्रक्चरको काम रहेको छ । हालसम्म स्ट्रक्चरको काम भने ५० प्रतिशत सम्पन्न भइसकेकोले करिव अन्तिम चरणमा पुगेको व्यवस्थापक सिलवालले जानकारी दिए । मैदान तर्फ भने हालसम्म ४.१७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बेमौसमी वर्षाको कारण मैदानको काम अघि बढाउन नसकिएको सिलवालले बताए । अहिले मुख्यगरि मैदानको काममा ढिलाई भएको छ । त्यहीँ कारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासंग निर्माणको काम सक्छ ६ महिना समय थपको माग गर्ने तयारीमा छ । ‘स्ट्रक्चरको काम लगभग अन्तिम चरणमा छ, हामीले ६ महिना म्याद थप भयो भने सबै काम सम्पन्न गरि महानगरलाई हस्तान्तरण गर्न सक्छौं’–व्यवस्थापक सिलवालले भने ।

रंगशाला निर्माणको क्रममा केही समय बजेट अभावले समेत काम रोकिन पुगेको थियो । गतवर्षको पुस र यसवर्षको वैशाख महिनामा निर्माण कम्पनीले पेश गरेको भुक्तानी पाउनु पर्ने रकम निकाशामा ढिलाई हुँदा निर्माण कम्पनीले एक महिना बढी सय काम रोकेको थियो । अहिले भने रंगशालाको निर्माणको काम निरन्तर भइरहेको छ ।

भरतपुर महानगरपालिकाले भने रंगशाला निर्माणको काम समयमै सकिने दावी गरेको छ । यद्यपी पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय स्तरमै बढेको महंगीलगायतका कारण निर्माणमा ढिलाई भएको महानगरले समेत स्वीकार गरेको छ । अहिले समयमै निर्माण सक्ने गरि काम भइरहेको भन्दै निर्माण कम्पनीले म्याद थपको माग गरेमा प्रक्रियागत रुपमा निर्णय गरिने महानगरका वरिष्ठ डिभिजन इन्जिनियर सन्तोष आचार्य बताउँछन् । ‘अहिलेसम्म निर्माण कम्पनीले हामीलाई ६ महिना म्याद चाहिन्छ भनेर आग्रह गरेको छैन, यदि बाँकी रहेको काम सम्पन्न गर्न म्याद थपको माग भयो भने सार्वजनिक खरिद ऐन अन्तरगत रहेर प्रक्रियागत रुपमा अघि बढाउँछौं, सकेसम्म समयमै काम सक्न निर्देशन दिएका छौं’–वरिष्ठ डिभिजन इन्जिनियर आचार्यले भने ।

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसंग मिलेर २०८१ असार २४ गते हिमालयन कालिञ्चोक बीबीआर जेभीसंग सम्झौता गरि रंगशाला निर्माणको काम अघि बढाएको थियो । धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक अभाव कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ६० प्रतिशत र महानगरको ४० प्रतिशत लगानी सुनिश्चित गरि अलपत्र अवस्थामा परेको रंगशालाको निर्माण अघि बढाएको थियो ।

अहिले रंगशाला निर्माणको काममा ४ वटा समूहमा काम खटिएका छन् । दशैंमा एउटा समूह मात्रै बिदामा घर फर्कियो भने बाँकी ३ वटा समूहका कामदारहरुले निरन्तर दशैंमा काम गरेका छन् । ‘हामीले चाडै काम सक्न दशैंमा पनि निरन्तर काम गर्‍यौं, सम्झौताको बाँकी समय भित्रमा स्ट्रक्चरको सबै काम सकाउने तयारीमा छौं’–व्यवस्थापक सिलवालले भने । उनले दशैं बिदामा गएको एउटा समूहको कामदार अब केहीदिनमा फर्किने र अन्य कामदारको संख्या पनि बढाईने जानकारी दिए । ‘दशैंमा पनि ९० जना भन्दा बढी कामदारले निरन्तर काम गरे, अब केहीदिनमा डेढ सयको हाराहारीमा कामदार पुग्छ । दुई वटा भीआइपी टावरमा एसी जडानको काम पनि सुरु हुन लागेकाले अब ५ वटा कामदारको समूहले काम अघि बढ्छ’–व्यवस्थापक सिलवालले सुनाए ।

अहिले भीआइपी टावर–१ सबै स्ट्रक्चर निर्माण सम्पन्न भई फिनिसिङको चरणमा छ । भीआइपी टावर–२ पनि फिनिसिङकै चरणमा पुगेको छ भने चार वट ब्लकमा रहेको प्याराफिट ३ वटा सम्पन्न भइसकेको छ भने अन्तिम ब्लकको प्याराफिट निर्माण सम्पन्न हुने चरणमा छ । दशैं बिदाबाट फर्किने कामदारको समूहले बाँकी प्याराफिटको ढलान सम्पन्न गर्नेछ । मैदानको काम तिहार लगत्तै सुरु गर्ने निर्माण कम्पनीको भनाई छ । ६ महिना म्याद भएमा उक्त समयसीमा भित्र निर्माण कम्पनीले काम सकाए नेपाल प्रिमियर लिगको चौथो संस्करणको होम एण्ड अवे खेल चितवनमा पनि हुने संभावना बढ्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>