नवलपुर

चक्रवातको सम्भावित प्रभाव : नवलपुरमा कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह

०
Banner

नवलपुर, कात्तिक १० –

भारतको बंगालको खाडीमा विकसित भइरहेको चक्रवात थप शक्तिशाली बन्ने सम्भावना रहेकाले नवलपुरमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वतयारी गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार चक्रवात कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना छ । यसको प्रभावले गण्डकी प्रदेशमा कात्तिक १३ र १४ गते भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

कार्यालयले किसानलाई कात्तिक १२ गतेअघि नै धानबाली काटेर भित्र्याउन, उक्त अवधिमा बाली नकाट्न तथा नभिज्ने गरी सुरक्षित राख्न आग्रह गरेको छ । त्यस्तै, चुरे क्षेत्रबाट बग्ने खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

सम्भावित जोखिमका कारण आवश्यक परे सवारी आवागमन बन्द गर्न सकिने भन्दै प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न, सडक तथा हवाई यातायातमा हुन सक्ने अवरोधप्रति सचेत रहन र स्थानीय तह, सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

प्रशासनले सम्भावित जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>