तनहुँ
झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

दमौली (तनहुँ), मंसिर १ –
स्थानीय बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गरिने राष्ट्रिय झण्डासहितको पार्क निर्माण गर्न देउसीभैलो अभियानबाट रु पाँच लाख भन्दा बढी रकम सङ्कलन भएको छ ।
झण्डा पार्क निर्माण समितिले बन्दीपुर, डुम्रे र दमौली बजारमा सञ्चालन गरेको देउसीभैलोबाट रु पाँच लाख १३ हजार सङ्कलन भएको पार्क निर्माण समितिका योजनाकार टीकाराम गिरीले जाकारी दिनुभयो ।
उहाँकाअनुसार बन्दीपुरमा रु ८९ हजार, डुम्रे बजारमा दुई लाख ६१ हजार र दमौलीमा रु एक लाख ६३ हजार सङ्कलन भएको छ । जिल्लाका अन्य ठाउँमा समेत पुगेर झण्डा प्रदर्शन र यसको प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।
बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने योजना छ । पार्कमा ६७ फिट अग्लो झण्डाको स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा राखिनेछ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन् ।
पार्क निर्माणका क्रममा हालसम्म रु १५ लाखभन्दा बढीको काम श्रमदानबाट सम्पन्न भइसकेको समितिका संयोजक शेरबहादुर रानाले जानकारी दिनुभयो । आर्थिक स्रोतको अभावका बाबजुद स्थानीयको उत्साह र सहयोगले पार्क निर्माणलाई अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । पार्क निर्माणका लागि रु तीन करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।
पृथ्वीराजमार्ग नजिकै पार्क निर्माण भइरहेको हुँदा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा पार्क बन्ने भएकाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
पार्क निर्माणपछि स्थानीय बासिन्दासँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका उक्त स्थान आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
























