समाचार
आलेखः दसैँले बाँचेका गुणबहादुरहरू

ख्वप, अजोज ३०-
दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा घरमा खसीबोका काट्ने, आफन्तसँग बसेर मीठोमसिनो खाने र रमाइलो गर्ने दृश्य आउँछ । तर भक्तपुरको दसैँको रौनक अलि फरक छ । यहाँ दसैँको भोजमा खसीबोका भन्दा राँगाको मासुको विशेष महत्व छ । विभिन्न गुठी र समूहले सामूहिक रूपमा टोलटोलमा राँगो काट्ने र त्यसको मासु भाग लगाएर घरघरमा भित्र्याउने परम्परा यहाँ छ । यही परम्पराले चितवनका गुणबहादुर बिसुरुवाजस्ता धेरै व्यापारीको जीवन धानिरहेको छ ।
चितवनका गुणबहादुर बिसुरुवा २५ वर्षदेखि भक्तपुरमा दसैँका लागि राँगा बेच्दै आउनुभएको छ । वर्षौंदेखि यही व्यवसायबाट दसैँको आम्दानी जुटाउँदै आउनुभएका उहाँ यस वर्ष पनि ३० वटा राँगा लिएर भक्तपुर आउनुभएको छ । गुणबहादुरका लागि राँगा बेच्नु केवल दसैँको व्यापार मात्र होइन, वर्षौंदेखि जीविकोपार्जनको आधार पनि हो । उहाँजस्तै विभिन्न जिल्लाबाट राँगा लिएर भक्तपुर आउने व्यापारीका लागि दसैँको समय आम्दानी गर्ने महत्वपूर्ण अवसर हो ।
सडकछेउको पालमुनि बास
भक्तपुरको सन्दर्भमा दसैँ होस् या अन्य समय राँंगो बेच्ने ठाउँं हो महेश्वरीस्थान । तर पनि राँगा बेच्न आउने व्यापारीको बसाइँ यहाँं पनि सहज छैन । उनीहरू राँगा राखिएकै ठाउँमा सडकछेउ पाल टाँगेर बस्छन् । अस्थायी चुलो बनाएर खाना पकाउँछन् र राति पनि राँगाकै निगरानी गरेर सुत्छन् । राँगा फुत्केर भाग्न सक्ने भएकाले तिनलाई एक्लै छाड्न मिल्दैन । त्यसैले बिक्री नभएसम्म व्यापारीले पालमुनि नै दिनरात बिताउनुपर्छ ।
परिवारसँग दसैँ मनाउने समय नजिकिँदै गर्दा उनीहरूको दिनचर्या भने राँगाको हेरचाह र ग्राहकको प्रतीक्षामै बितिरहेको हुन्छ । कुनै राँगा बिक्री भयो भने व्यापारीको अनुहारमा खुसी छाउँछ । तर दिनभरि ग्राहक नआउँदा अर्को दिनको आशा बोकेर रात बिताउनुपर्ने बाध्यता छ उनीहरुको । दसैँको रौनक अरूका घरमा भित्रिँदै गर्दा उनीहरूका लागि दसैँ भने व्यापार र जीविकोपार्जनको हिसाबकिताब बनेको छ ।
के होला गुणबहादुरहरुको अबको दसैँ ?
सबैलाई थाहा छ समय सधैँ उस्तै कहाँ रहन्छ र १ कुनै समय दसैँ आउनु महिना दिन अघिदेखि नै राँगा किन्ने र बेच्नेको भीड लाग्ने भक्तपुरको महेश्वरीस्थानमा अहिले भने पहिलेको जस्तो चहलपहल छैन । दसैँका लागि राँगा बेच्न आएका व्यापारी ग्राहकको प्रतीक्षामा छन् । दसैँको परम्परासँगै आफ्नो जीविकोपार्जन जोडिएका उनीहरूका लागि यसपालिको दसैँ अपेक्षाभन्दा खल्लो बनेको छ । तर घटस्थापनाका दिन महेश्वरीस्थान आइपुग्नुभएका रामबहादुर जस्ता धेरैले दसैँ नजिकिँदै गर्दा पनि एउटा राँगासमेत बिक्री गर्न नसकेको बताइरहनुभएको छ ।
पहिला–पहिला राँगा किन्न एक महिना अघिदेखि नै ग्राहक आउँथे । अहिले एक हप्ताअघि मात्रै ल्याउँदा पनि ग्राहक पाउन मुस्किल छ, रामबहादुरले दुःखेसो पोख्नुभयो । तर राँगा किन्ने ग्राहक घट्दै जाँदा आफूहरूको वर्षभरिको आशा र मेहनतमा समेत असर पर्न थालेको उहाँंले दुःख विसाउनुभयो ।
परम्परा बदलिँदा गुणबहादुरहरुको भविष्य अन्धकार
भक्तपुरमा राँगाको व्यापार घट्नुका पछाडि उपभोगको बदलिँदो शैली, वर्षभरि मासु उपलब्ध हुने अवस्था, गुठीको घट्दो सहभागिता र बजार व्यवस्थापनमा देखिएका कठिनाइ प्रमुख कारणका रूपमा व्यापारी तथा स्थानीयले औँल्याएका छन् । पहिले दसैँको मासु वर्षभरिका लागि सुकुटी बनाएर राख्ने चलन थियो । अहिले आवश्यक पर्दा बजारबाट मासु किन्न सकिने भएकाले दसैँका लागि धेरै राँगा किन्ने आवश्यकता घटेको छ । अर्कोतर्फ, परम्परागत रूपमा सामूहिक भोज आयोजना गर्ने गुठीहरूको संख्या वा सक्रियता घट्दा राँगाको माग पनि प्रभावित भएको छ ।
यद्यपि भक्तपुरको राँगाको बजार केवल किनबेचको ठाउँ होइन । यो स्थानीय संस्कृति, सामूहिक भोज र पुस्तौँदेखि चलिआएको परम्परासँग जोडिएको बजार हो । यही बजारमा वर्षौँदेखि व्यापार गर्दै आएका गुणबहादुर बिसुरुवाजस्ता व्यापारीका लागि भने यो जीविकोपार्जनको आधार हो । उहाँको चिन्ता आफ्ना राँगा कहिले बिक्री हुन्छन् भन्नेमा मात्रै सीमित छैनस वर्षौँदेखि यही व्यवसायमा टिकेका व्यापारीको भविष्य पनि यससँग जोडिएको छ ।
दसैँमा अरूका घरमा मासु भित्रिन्छ, भोज पाक्छ र चाडपर्वको खुसी छाउँछ । तर त्यही खुसीका लागि राँगा बेच्न आएका व्यापारी भने सडकछेउको पालमुनि बसेर आफ्नो व्यापार चल्ने आशा गरिरहेका छन् । उनीहरूका लागि दसैँ कमाइको अवसर हो, परिवारको खर्च जुटाउने समय हो र वर्षौँदेखि अपनाउँदै आएको पेसालाई निरन्तरता दिने आधार पनि हो । भक्तपुरको राँगाको बजारमा घट्दो चहलपहलले एउटा प्रश्न उठाएको छ—परम्परा बदलिँदै जाँदा त्यसैमा निर्भर रहेका व्यापारीहरूको जीविका कसरी जोगिएला रु
परम्पराले धानेको व्यापार, घट्दै गएको बजार
भक्तपुरको महेश्वरीस्थानमा दसैँ सुरु हुनुभन्दा करिब एक साता अघिदेखि राँगाको बजार लाग्छ । चितवन, रामेछाप, वीरगञ्ज, सिन्धुपाल्चोक, गौशाला, भारत, कपिलवस्तु र नेपालगञ्जलगायतका ठाउँबाट व्यापारी राँगा लिएर यहाँ आउँछन् । यस वर्ष पनि आठदेखि १० वटा समूहमा व्यापारीहरू राँगा बेच्न आएका छन् ।
भक्तपुरका स्थानीय कृष्णप्रसाद बासीलाई पहिलेको राँगाको बजार अझै सम्झना छ । उहाँका अनुसार कुनै समय दसैँका लागि महेश्वरीस्थानमा तीन हजारभन्दा बढी राँगा बिक्री गर्न ल्याइन्थ्यो । अहिले भने त्यो सङ्ख्या घटेर करिब पाँच सयको हाराहारीमा सीमित भएको छ ।
पहिला एउटा गुठीले कम्तीमा एउटा राँगो काट्ने चलन थियो । कुनै–कुनै गुठीले दुईदेखि तीन वटासम्म काट्थे । अहिले धेरै गुठीले एउटा मात्रै काट्छन्, कतिपयले काट्नै छाडेका छन्, उहाँले भन्नुभयो । पहिले दसैँका लागि एकैपटक धेरै मासु किनेर सुकुटी बनाउने चलन थियो । दसैँमा काटिएको राँगाको मासु विभिन्न परिकार बनाएर खाने र बाँकी मासु सुकाएर राख्ने गरिन्थ्यो तर अहिले बजारमा वर्षभरि नै मासु उपलब्ध हुन थालेपछि दसैँका लागि एकैपटक धेरै मासु किनेर राख्ने चलन घट्दै गएको स्थानीयको भनाइ छ । यही परिवर्तनले राँगाको बजारमा प्रत्यक्ष असर पारेको छ ।
पहिले दसैँमा राँगा बेचेर राम्रो आम्दानी गर्ने व्यापारीहरू अहिले बिक्री नहुने चिन्तामा छन् । रामेछापका व्यापारी राजन तिमल्सिना पनि यस वर्ष २५ वटा राँगा लिएर भक्तपुर आउनुभएको छ । उहाँले ल्याएका राँगाको मूल्य ६० हजारदेखि दुई लाख रुपैयाँसम्म पर्छ । दसैँको समयमा राँगा बेचेर खर्च जुटाउने गरेको छु । तर यसपालि बजारमा खासै चहलपहल छैन, उहाँले भन्नुभयो ।
राँगा किन्ने ग्राहक घट्नुको असर व्यापारीको आम्दानीमा मात्रै सीमित छैन । बिक्रीका लागि ल्याइएका राँगा लामो समयसम्म राख्नुपर्दा तिनको हेरचाह, दाना र पानीको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिनुपर्छ । बिक्री हुने आशामा टाढाटाढाबाट राँगा ल्याएका व्यापारीका लागि ग्राहकको प्रतीक्षा आफैँमा खर्चिलो काम बनेको छ ।
राँगाको मासुमा भक्तपुरको दसैँको स्वाद
भक्तपुरको दसैँलाई राँगाको मासुका परिकार बिना पूर्ण मानिँदैन । यहाँका विभिन्न गुठी तथा समुदायमा सामूहिक भोज गर्ने परम्परा छ । भोजमा राँगाको मासुबाट तयार पारिने अनेक परिकारले विशेष स्थान पाउँछन् । स्थानीय संस्कृतिप्रेमीहरूका अनुसार छोयला, दायकला, ख्वायला, सलाख्वा, भुटन र सेकुवाजस्ता परिकार भक्तपुरको परम्परागत भोजका महत्वपूर्ण मासुका परिकार हुन् । पोलेर बनाइने छोयला, झोल भएको दायकला, पकाएर चिसो बनाइने ख्वायला, मासुको झोलबाट बनाइने पिरो सलाख्वा, भुटन र तेलमा तारेर बनाइने सेकुवाजस्ता परिकारले भोजको स्वाद बढाउँछन् ।
यी परिकार केवल खानाका विविधता मात्र होइनन्, भक्तपुरको सांस्कृतिक पहिचानसँग पनि जोडिएका छन् । दसैँमा गुठी तथा समूहले सामूहिक रूपमा राँगो काट्ने र मासु बाँडेर भोज गर्ने परम्पराले समुदायबीचको सम्बन्धलाई पनि निरन्तरता दिँदै आएको छ ।
राँगाको प्रयोग भोजमा मात्र सीमित छैन । विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा समेत यसको महत्व रहेको स्थानीयहरू बताउँछन् । यद्यपि भक्तपुरमा दसैँका अवसरमा सबै प्रकारका पशु काट्ने चलन एउटै छैन । महाअष्टमीका दिन सवारीसाधनको पूजा गर्दा खसी वा बोका बलि दिने परम्परा पनि यहाँ प्रचलित छ ।
महेश्वरीमै किन लाग्छ राँगाको बजार
वीरगञ्ज महानगरपालिका क्षेत्रको जितपुरबाट राँगा बेच्न आउनुभएका व्यापारी हली महोमदमियाका अनुसार महेश्वरीस्थानमा राँगा राख्ने परम्परा यहाँ पहिले खुला ठाउँ भएकाले सुरु भएको हो । फराकिलो क्षेत्र र नजिकै खोला भएकाले विभिन्न ठाउँबाट ल्याइएका राँगा यहाँ राख्न सहज थियो । तर अहिले अवस्था फेरिएको छ । वरिपरि बस्ती विस्तार भएको छ ।
खेलमैदान, सडक र अन्य संरचना बनेका छन् । नगरपालिकाले विभिन्न क्षेत्रमा पर्खाल लगाएकाले राँगा राख्न पर्याप्त ठाउँ पाउन कठिन भएको व्यापारीहरूको गुनासो छ । खोलाको किनारमा समेत पर्खाल बनेपछि राँगालाई पानी खुवाउन समस्या हुने गरेको उनीहरू बताउँछन् । पहिला सय–दुई सय राँगा ल्याएर बेच्थ्यौँ । अहिले ३० वटा पनि राख्ने र बाँड्ने ठाउँ पाउन गाह्रो छ, महोमदमियाले भन्नुभयो ।
उहाँका अनुसार पहिले महेश्वरीस्थानमा राँगा राखेबापत शुल्क तिर्नुपर्ने व्यवस्था थिएन । अहिले भने प्रत्येक राँगाको ५० रुपैयाँ तिर्नुपर्छ । शुल्क लिएपछि व्यापारीलाई आवश्यक सुविधा पनि उपलब्ध गराउनुपर्ने उहाँको माग छ । भक्तपुर नगरपालिकाका कर अधिकृत प्रभासकुमार चालिसेका अनुसार महेश्वरीस्थानमा बिक्रीका लागि ल्याइएका प्रत्येक राँगाबापत दैनिक ५० रुपैयाँ शुल्क लिने गरिएको छ । उहाँका अनुसार दुई वर्षअघि राँगा बोकेर ल्याइएको गाडीका आधारमा प्रतिगाडी ५०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अहिले भने प्रतिराँगोका आधारमा शुल्क लिइँदै आएको छ ।
व्यापारीहरू भने शुल्कसँगै राँगा राख्ने पर्याप्त ठाउँ, पानी र अन्य आधारभूत सुविधा पनि उपलब्ध हुनुपर्ने बताउँछन् । परम्परागत बजार सञ्चालन भइरहे पनि त्यस अनुसारको पूर्वाधार र व्यवस्थापन नहुँदा आफूहरूलाई समस्या परेको उनीहरूको गुनासो छ ।
भक्तपुरका स्थानीय दसबहादुर मानन्धरका अनुसार महेश्वरीस्थानमा घटस्थापनादेखि फूलपातीसम्म मुख्य रूपमा राँगाको बजार लाग्छ । फराकिलो ठाउँ र नजिकै खोला भएकाले विगतदेखि नै यहाँ राँगा राख्ने गरिएको उहाँ बताउनुहुन्छ । पहिले भेलुखेलमा पनि राँगा राख्ने चलन भए पनि अहिले ठाउँ अभावका कारण महेश्वरीस्थानमै बजार केन्द्रित भएको उहाँको भनाइ छ । स्थानीय परम्पराअनुसार फूलपातीको अघिल्लो दिनदेखि राँगा काट्ने क्रम सुरु हुन्छ । फूलपातीका दिन घरघरमा राँगाको मासु भित्र्याउने चलन छ । त्यसैले महेश्वरीस्थानको बजार दसैँको तयारीसँग प्रत्यक्ष जोडिएको छ ।
दसैँको भोजमा राँगाको मासुको स्वाद कायम रहोस् वा यसको उपभोगको शैली बदलियोस्, गुणबहादुरजस्ता व्यापारीको जीवन पनि यही परम्परासँग गाँसिएको छ । दसैँको रौनकले उनीहरूको चुलो पनि बल्न सकोस्, उनीहरूले ल्याएका राँगा पनि बिक्री होऊन् र वर्षौँदेखि यही बजारमा टिकेको जीविकोपार्जनको आधार पनि नटुटोस्, भक्तपुरको महेश्वरीस्थानमा ग्राहकको प्रतीक्षामा बसेका व्यापारीहरूको आशा यही हो । रासस























