राजनीति
‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’:सांसद इन्दिरा राना

काठमाडौँ, असोज २९ –
पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण, वातावरण संरक्षण र आधुनिक विकाससहित विविध विषयमा ज्ञान लिन सक्ने बताउनुभएको छ ।
साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा साँसद उहाँले चीनले संस्कृति संरक्षणलाई रोजगारीको माध्यम बनाएकाले त्यो पक्षलाई नेपालले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल र सिचाङबीच सदियौदेखि घनिष्ठ मित्रवत सम्बन्ध रहेकाले नेपालले त्यहाँबाट धेरै विषयबस्तु सिक्न सक्ने बताउनुभयो ।
उहाँले त्यहाँको संस्कृति नेपालको नेवाः संस्कृतिसँग मिल्दोजुल्दो रहेकाले विगतदेखि नै दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको धारणा व्यक्त गर्नुभयो ।
महावाणिज्यदूत निरौलाले भन्नुभयो, “नेपाल र सिचाङको सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ छ, त्यहाँको पर्यटन प्रवद्र्धन, रेलमार्ग, सुरुङमार्गसहित अत्याधुनिक विकासबारे नेपालले सिक्न पर्छ ।”
त्यहाँस्थित पोताला दरबार अवलोकन गर्न वार्षिक चार करोड बढी पर्यटक पुग्ने भएकाले त्यसको एक हिस्सा मात्र यहाँ ल्याउन सके नेपालको पर्यटनमा कायापलट हुन सक्नेभएकाले त्यसतर्फ सम्पूर्ण राज्यको ध्यान केन्द्रित गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । केही दिनअघि सिचाङ क्षेत्रको भ्रमण गरी फर्किएको नेपाली टोलीका सदस्य एवम् बौद्ध दर्शनका जानकार मोहनकुमार तामाङले नेपाल र सिचाङबीच १४ सताब्दीदेखि नै जनस्तरमा समेत मित्रवत सम्बन्ध रहेको बताउनुभयो ।
सिचाङले बौद्ध सम्पदाको संरक्षण गरी लाखौँ पर्यटक आकर्षित गरेको बताउँदै त्यहाँ रहेका र नेपालका कतिपय गुम्बाबीच अन्योन्याश्रित सम्बन्ध रहेको विषयमा प्रचार प्रसारको खाँचो उहाँले औँल्याउनुभयो ।
कलाकार राजु पौडेल ९मास्टर० ले सिचाङबाट हामीले सम्पत्ति मात्र नभई सम्पदा जोगाएर सन्ततीलाई हस्तान्तरण गर्न पर्ने रहेछ भन्ने ज्ञानआर्जन भएको बताउनुभयो । उहाँले नेपालले आफ्नो पहिचानका रुपमा रहेको कला, संस्कृति र मठमन्दिर संरक्षणमा अब विशेष पहल गर्नुपर्छ भन्नुभयो । वरिष्ठ पत्रकार दीपक रिजालले सिचाङको विकास, पर्यावरण संरक्षणमा त्यहाँको सरकारले देखाएको तदारुकता प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “त्यहाँको विकास, अनुशासन, सरसफाइ पूर्वाधार निर्माण, सांस्कृतिक सम्पदाको संरक्षणबाट नेपालले धेरै कुरा सिक्नुपर्छ ।” आयोजक संस्था सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सिचाङबाट नेपालको पर्यटन र हिमाली क्षेत्रले फाइदा लिन सक्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सिचाङ र नेपालीको हिमाली सम्पदा, परम्परागत ज्ञान र सीप आर्जन गर्ने परम्परा एकै खालको रहेकाले त्यहाँ स्थापित असल अभ्यास र मूल्य मान्यतालाई यहाँका भावी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्नुपर्छ ।”
कार्यक्रममा नेपाल र सिचाङ क्षेत्रका महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्र सम्बन्धित वृत्त चित्र प्रस्तुत गरिएको थियो ।























