Breaking News
दशैंभरि भारी वर्षाको जोखिम छैनः अधिकांश भागमा मौसम सामान्य रहने

काठमाडौँ , असोज ३० –
यसपालिको दशैं पर्व मनाउने सोचमा हुनुहुन्छ भने मौसमलाई लिएर ठूलो चिन्ता लिनुपर्ने देखिँदैन। जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार दशैंभरि नै देशका कुनै पनि भागमा लगातार, ठूलो वा उल्लेखनीय वर्षा हुने सम्भावना छैन।
अधिकांश भूभागमा मौसम सामान्यतया सफा र सुखद रहने भएकाले सर्वसाधारणका लागि यात्रा तथा उत्सव मनाउन अनुकूल वातावरण रहनेछ।
दिनगन्त मौसम पूर्वानुमानको मुख्य विवरण
१. फूलपाती, महाअष्टमी र कात्तिक १ गते
उच्च पहाडी तथा हिमाली भूभागः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
अन्य भूभागः देशका बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
२. कात्तिक २, ३ र ४ गते
पहाडी र हिमाली क्षेत्रः कोशी, बागमती र गण्डकी प्रदेशका हिमालीरपहाडी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका सीमित (एक-दुई)स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।
वर्षाको दायराः विभागका अनुसार निलो संकेत गरिएका हिमाली तथा पहाडी जोखिमयुक्त क्षेत्रहरूको पनि केवल १० प्रतिशत भूभागमा मात्रै क्षणिक र हल्का वर्षा हुन सक्छ।
मौसम विभागको सुझावः
मौसम छिनछिनमा परिवर्तन भइरहने भएकाले यात्रा वा कुनै पनि विशेष योजना बनाउनु अघि विभागको आधिकारिक तथा अद्यावधिक सूचना नियमित रूपमा लिनुहुन अनुरोध गरिएको छ।























