देश/प्रदेश
गाउँबस्तीमा कमेरो माटोको प्रयोग हराउँदै, आधुनिकतासँगै बदलिँयो मानिसको रोजाइ

दिवस दंगाल,
गुल्मी , असोज ३०-
दशैँ नजिकिँदै गर्दा गाउँ–सहरका घरहरू सफा वा लिपपोत गर्ने र नयाँ रङरूप दिने प्रचलन छ । घटस्थापनाअघि घर सफा गरेर सेतो कमेरो र रातो माटोले भित्ता सजाउने परम्पराले नेपाली गाउँघरमा दशैँ आएको सङ्केत दिन्थ्यो।
घरको माथिल्लो भागमा सेतो कमेरो र तल्लो भागमा रातो माटो लगाउँदा परम्परागत ढुङ्गा र माटोका घरहरू आकर्षक देखिन्थे। तर पछिल्लो समय गाउँघरमा कमेरो माटोले घर पोत्ने चलन घट्दै गएको छ। यसको ठाउँमा बजारमा सजिलै पाइने चुनाको प्रयोग बढेको छ।
कमेरो माटो प्राकृतिक सेतो रङ हो । विशेष गन्ध र रङका कारण परम्परागत नेपाली घरहरूको पहिचान बनेको कमेरोले घरलाई आकर्षक बनाउनुका साथै घामको ताप परावर्तन गर्न मद्दत गर्ने विश्वास पनि छ।
पहिले पहाडी क्षेत्रका अधिकांश घरमा यसको प्रयोग गरिन्थ्यो। दशैँ, तिहारलगायत चाडपर्व तथा विशेष अवसरमा घरलाई नयाँ स्वरूप दिन कमेरो माटोले पोत्ने गरिन्थ्यो।
दशैँ नेपाली समाजको प्रमुख चाड भएकाले घर सफा गर्ने र लिपपोत गर्ने कामलाई विशेष महत्त्व दिइन्छ। घटस्थापनाअघि घर सफा र चिटिक्क पारेर देवी दुर्गाको पूजा आराधना गर्ने परम्परा छ।
नयाँ लुगा लगाउने, मीठोमसिनो खाने र आफन्तसँग भेटघाट गर्ने तयारीसँगै घरलाई नयाँ रूप दिने चलनले दशैँको आगमनलाई थप उत्सवमय बनाउँथ्यो। घरको भित्तामा सेतो कमेरो र रातो माटो लगाउने काम केवल सरसफाइमा सीमित थिएन, यो चाडपर्वको तयारी र सांस्कृतिक पहिचानको अभिन्न हिस्सा थियो।
तर समयसँगै कमेरो माटो खोज्ने, सङ्कलन गर्ने र घरसम्म ल्याउने परम्परा हराउँदै गएको छ। कमेरो प्राकृतिक रूपमा पाइने निश्चित ठाउँमा पुगेर निकाल्नुपर्ने हुन्छ। नदी किनार, वन क्षेत्र वा कमेरो पाइने ठाउँसम्म पुगेर माटो सङ्कलन गर्नु समय र श्रम दुवै लाग्ने काम हो। यसको तुलनामा चुना बजारका हार्डवेयर तथा अन्य पसलमा सहजै उपलब्ध हुने भएकाले मानिसहरू त्यसतर्फ आकर्षित भएका छन्।
गुल्मीको मालिका गाउँपालिका–६, अर्जैकी स्थायी बासिन्दा सरस्वती पराजुलीका लागि कमेरो माटो सङ्कलन गर्नु बाल्यकाल र गाउँघरको सामूहिक जीवनसँग जोडिएको सम्झना हो। उनी पहिले घरबाट करिब एक घण्टाको दूरीमा रहेको वन क्षेत्रनजिकको स्थानीय नदी किनारबाट डोकोमा कमेरो माटो बोकेर ल्याउने गरेको बताउँछिन्।
उनका अनुसार कमेरो लिन जाँदा एक परिवारका सदस्य मात्रै नभइ विभिन्न परिवारका मानिस भेला भएर समूहमा जाने गर्थे। बाटोमा गीत गाउँदै, कुराकानी गर्दै र सामूहिक रूपमा काम कमेरो सङ्कलन गर्ने चलन थियो। काम श्रमसाध्य भए पनि त्यसले परिवार, आफन्त र छिमेकीलाई एकै ठाउँमा जोड्ने गरेको उनी सम्झन्छिन्।
उनले भनिन्,‘पहिले कमेरो माटो लिन जाँदा विभिन्न परिवारका मानिस एकै ठाउँमा भेला भएर जान्थ्यौँ। गीत गाउँदै, कुराकानी गर्दै काम गर्दा रमाइलो हुन्थ्यो। काम गाह्रो भए पनि त्यसले परिवार, आफन्त र छिमेकीलाई एकै ठाउँमा जोड्थ्यो ।’
तर अहिले कमेरोको सट्टा चुना प्रयोग गर्ने चलन बढेको उनले बताइन् । चुन सजिलै पाइने र फोन गरेकै भरमा घरसम्म आइपुग्ने भएकाले कमेरो खोज्न जाने समय र श्रम बच्ने गरेको उनको भनाइ छ। पहिले सामूहिक रूपमा गरिने काम अहिले बजारबाट सामग्री किनेर ल्याउने प्रक्रियामा सीमित हुँदै गएको छ ।
कमेरो माटोको प्रयोग घट्नुमा यसको उपलब्धतामा आएको कमी पनि अर्को कारण हो।
गुल्मीका अर्का स्थानीय बासिन्दा देवराम गौतमका अनुसार अहिले आफ्नो क्षेत्रमा कमेरो माटो सहजै पाउन कठिन छ। स्थानीय क्षेत्रमा पनि सीमित ठाउँमा मात्रै पाइने भएकाले चाडपर्वमा घर पोत्न चुना प्रयोग गर्नुपर्ने अवस्था आएको उनी बताउँछन्।
गौतमका अनुसार कमेरो माटोको उपलब्धता घट्दै गएपछि परम्परागत रूपमा घर पोत्ने सामग्री परिवर्तन भएको छ । तर घर सफा गर्ने, नयाँ रूप दिने र चाडपर्वको स्वागत गर्ने यसको महत्त्व भने कायमै छ। उनका अनुसार सामग्री फेरिए पनि चाडपर्वको तयारी र घरलाई नयाँ स्वरूप दिने परम्पराको अर्थ हराएको छैन।
कमेरो माटोको प्रयोग घट्नुमा युवा पुस्ताको बसाइँसराइले पनि प्रभाव पारेको छ। अध्ययन, रोजगारी र अन्य अवसरको खोजीमा युवाहरू सहर तथा विदेश जाने क्रम बढेसँगै गाउँघरमा श्रम गर्ने जनशक्ति कम हुँदै गएको छ। कमेरो कहाँ पाइन्छ, कसरी निकाल्ने र घरमा प्रयोग गर्न कसरी तयार पार्ने भन्ने परम्परागत सीप पनि नयाँ पुस्तामा पर्याप्त रूपमा हस्तान्तरण हुन सकेको छैन।
पहिले परिवारका सदस्य, आफन्त र छिमेकी मिलेर कमेरो सङ्कलन गर्ने र घर पोत्ने काम गर्थे। यसले चाडपर्वको तयारीलाई सामूहिक उत्सवको रूप दिन्थ्यो। अहिले भने बजारबाट चुनो किनेर ल्याएपछि घर पोत्ने काम सजिलो भएको छ। यसले समय र श्रम बचाए पनि परम्परासँग जोडिएका सामूहिक अनुभव र सामाजिक भेटघाटका अवसर घट्दै गएका छन्।
हिजोआज विशेषगरी गाउँबस्तीका घरहरूमा चुना प्रयोग हुन थाले पनि घटस्थापनाअघि घर सफा गरेर चिटिक्क बनाउने मान्यता भने जीवित छ । दशैँका लागि घरलाई सफा र ताजा बनाउने परम्पराको मूल उद्देश्य उही छ, फरक केवल प्रयोग गरिने सामग्रीमा आएको हो।
कमेरो माटोको प्रयोग घट्दै जानु गाउँघरको बदलिँदो जीवनशैली र सांस्कृतिक अभ्यासको रूपान्तरणको एउटा उदाहरण हो। सहज उपलब्धता र कम श्रम लाग्ने विकल्पले परम्परागत सामग्रीलाई विस्थापित गरिरहेका छन्। तर कमेरो माटोसँग जोडिएका सामूहिक श्रम, पारिवारिक आत्मीयता र गाउँले जीवनका सम्झनाहरू नेपाली समाजको सांस्कृतिक स्मृतिमा अझै ताजा छन्।
कमेरो माटोको प्रयोग हराउँदै जाँदा एउटा प्रश्न पनि उठाएको छ,आधुनिक सुविधाले काम सहज बनाइरहँदा परम्परासँग जोडिएका सामूहिक अभ्यास र मौलिक पहिचानलाई कसरी जोगाउने ?
कमेरोको ठाउँमा चुना आए पनि दशैँको स्वागत गर्ने नेपाली गाउँघरको भावना उस्तै छ । घरको रङ फेरिएको छ, सामग्री फेरिएको छ, तर चाडपर्वअघि घरलाई सफा र पवित्र बनाउने विश्वास भने अझै कायम छ।























