नवलपरासी
भारतीय बजारबाट नेपालमा अवैध रूपमा मदिरा भित्रिँदै

पुरुषोत्तम सुवेदी
नवलपरासी, असोज २९–
भारतीय बजारबाट नेपालमा अवैध रूपमा ठूलो परिमाणमा मदिराको कारोबार हुँदै आएको नयाँ तथ्य बाहिर आएको छ । पश्चिम नवलपरासीमा प्रहरीले बिहिबार ठूलो परिमाणमा भन्सार छली गरी ल्याइएको अवैध मदिरा नियन्त्रणमा लिएपछि यो तथ्य बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार भारतीय बजारबाट नेपालतर्फ अवैध रूपमा मदिरा भित्र्याइँदै गरेको गुप्त सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा श्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ महलबारीस्थित भित्री सडक खण्डबाट भारी परिमाणमा अवैध मदिरा बरामद गरिएको छ ।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार विशेष सूचनाका आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी रामनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ११ वटा ठूला हरिया झोलामा ल्याउँदै गरेको अवस्थामा उक्त मदिरा नियन्त्रणमा लिएको हो।
प्रहरीको टोलिले ७ वर्ष पुरानो ब्लेंडेड ओल्ड मन्क (ट्रिपल एक्स) रम (७५० मिलिलिटर) को ७४२ बोतल बरामद गरेको छ। प्रति बोतल अन्दाजी मूल्य रु. २,००० का दरले जम्मा अन्दाजी रु. १४ लाख ८४ हजार बराबरको अवैध मदिरा नियन्त्रणमा लिइएपछि सीमा क्षेत्रबाट हुने यस्तो अवैध कारोबारको गिरोहबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























