देश/प्रदेश

निम्सदाईको दूरदृष्टि र मानव सेवाको सम्मान: लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

०
Banner

काठमाडौं, असोज २९-

विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को परिकल्पना र नेतृत्वमा निर्माण गरिएको‘PROJECT HORIZON – A NEW PORTER HOUSE FOR LOBUCHE ‘ले बेलायतमा आयोजित प्रतिष्ठित ‘नेसनल च्यारिटी टुडे अवार्ड्समा ‘कम्युनिटी इम्प्याक्ट’ विधा अन्तर्गत ‘हाइली कमेन्डेड’ (Highly Commended Award) अवार्ड प्राप्त गरेको छ। परियोजना यसअघि उक्त विधाको फाइनलिस्टका रूपमा छनोट भएको थियो।

सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय र विश्रामको सुविधा प्रदान गर्दै आएको छ। सञ्चालनमा आएको करिब एक महिनामै ८०० भन्दा बढी भरिया तथा पदयात्रीहरुले यस पोर्टर हाउसबाट आश्रय र विश्रामको सुविधा लिइसकेका छन्। हिमाली पर्यटनलाई सफल बनाउन कठिन परिस्थितिमा योगदान दिने श्रमिकहरूको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिनु यस परियोजनाको मुख्य उद्देश्य हो।

निम्सदाईको हिमाल प्रतिको प्रेम र हिमाली समुदाय प्रतिको प्रतिबद्धताबाट प्रेरित यस परियोजनालाई साकार बनाउन इन्जिनियर, स्थानीय कामदार, भरिया, समुदाय, दाता तथा साझेदार संस्थाहरूले महत्त्वपूर्ण योगदान दिएका छन्। दुर्गम भूगोलमा निर्माण सामग्री पुर्‍याउने देखि निर्माण कार्य सम्पन्न गर्नेसम्म सबैको सामूहिक मेहनतले यो सपना वास्तविकतामा परिणत भएको हो।

यो सम्मान निम्सदाईको परिकल्पनाको मात्र नभई हिमाली श्रमिकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन हातेमालो गर्ने सम्पूर्ण टोलीको साझा उपलब्धि हो। पुरस्कारले नेपालको हिमाली समुदाय प्रति केन्द्रित मानवीय पहललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत गरेको छ।

निम्सदाई फाउन्डेसनले यस उपलब्धिलाई आफ्नो सामाजिक प्रतिबद्धताको पहिचानका रूपमा लिँदै निम्सदाईको सोच र विरासतलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। किनकि वास्तविक सफलता हिमालको शिखरमा पुग्नुमा मात्र नभई , त्यहाँ पुग्न सहयोग गर्ने हातहरूको जीवनमा सम्मान र सुरक्षा सुनिश्चित गर्नुमा पनि छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>