Uncategorized

प्रकोपबाट जीवन गुमाएकाको मोक्षको कामनाले महारुद्राभिषेक यज्ञ गरिँदै

०
Banner

काठमाडौँ, असोज २७ –

हालै रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीको प्राकृतिक प्रकोपबाट जीवन गुमाउनको आध्यात्मिक उद्धार अर्थात् मोक्षत्व प्राप्तिको कामनासहित विश्वकल्याण महारुद्राभिषेक यज्ञ गरिने भएको छ ।

‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्नुहुने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२ औँ वार्षिकोत्सवका सन्दर्भमा प्रकोपबाट जीवन गुमाएको मोक्षत्व प्राप्तिका लागि त्रिदिवसीय यज्ञ आयोजना गर्न लागिएको हो ।

आगामी कात्तिक २९ गतेदेखि मङ्सिर १ गतेस यज्ञ सम्पन्न गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले राससलाई जानकारी दिनुभयो ।

महर्षि महाअभियानले वैदिक पुनःउत्थान निम्ति विश्वव्यापी महाअभियान चलाउँदै आएको छ । विसं २०३१ कात्तिक ८ गतेदेखि २३ गतेसम्म नेपालमा आई महर्षि योगी वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भनी उद्घोष गर्नुभएको थियो ।

त्यसबेला उहाँलाई नेपाल आमन्त्रण र स्वागत गर्ने अग्रपङ्क्तिमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम, संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मण लगायतका व्यक्तित्व हुनुहुन्थ्यो ।

पूर्वमन्त्री बास्कोटाको अध्यक्षतामा यज्ञका लागि मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समितिको बैठकमा प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, प्रा डा विद्यानाथ कोइराला, प्रा डा हृदयलाल कोइराला र प्रा डा पुष्पराज पोख्रेल, नेपाली सेनाका पूर्वउपरथी होमनाथ दवाडी, उद्यमी रमेश चौलागाईलगायत धार्मिक, सांस्कृतिक क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

बैठकले वरिष्ठ लेखापरीक्षक उपेन्द्र सापकोटालाई यज्ञको लेखा समिति संयोजकको जिम्मेवारी दिने निर्णय गरेको छ । महर्षि–संस्थाले हरेक वर्ष कम्तीमा महारुद्र महायज्ञ गरिरहने सङ्कल्प लिएको अध्यक्ष बास्कोटाले जानकारी दिनुभयो । यसअघि विसं २०८१ मा महर्षि आगमनको स्वर्ण महोत्सवको अवसर पारेर भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ र २०८२ मा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा महारुद्र यज्ञ गरिएको थियो ।

यज्ञमा जोसुकै नेपाली स्वयंकर्ता हुन तथा आ–आफ्नै हातमा जौ, तिल र कुश राखेर आ–आफ्ना अभिष्टसिद्धिका लागि सङ्कल्प गर्न सकिने व्यवस्था मिलाएको फाउन्डेसनले जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>