देश/प्रदेश

भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

०
Banner

म्याग्दी,असोज २६-

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौति बनेको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरिका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौ जाने आउने सवारी साधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।
बेनी नगरपालिका–२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारी साधनको जाम हुने, साघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताउनुभयो ।

“नदी कटान र पहिरोका कारण एक सय मिटर दुरीमा सडक साविकको भन्दा दुई देखि तीन मिटर भासिएको र दवेको छ,” उहाँले भन्नुभयो “सवारी साधनको चाप बढेको हुँदा घण्टौ जाम हुने गरेको छ ।”

आर्थिक वर्ष २०८१÷०८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी ब्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात ब्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरेपनि प्रतिकुल भूगोलका कारण समाधान हुन नसकेको बताउनुभयो ।

“सडक डिभिजनले ग्राभेल राखेपनि दवेर भोलीपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उहाँले भन्नुभयो “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोताले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालय मार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>