देश/प्रदेश
बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो

काठमाडौं,असोज २६ –
गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ ।
नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगेका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान शाखाले त्रिशूली र नारायणी करिडोरका तटीय क्षेत्रमा आज दिनभर उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । आईतवार बिहान करिव ४ बजे शुरु भएको बाढी तीन चरणमा आएको तथ्याङ्कले देखाएको छ । बिहान ६ः३० बजेदेखि बढ्न थालेको बाढी ८ः४५ बजेसम्म ८.५ मिटरको सतहमा पुगेको थियो । जुन खतराको तहभन्दा धेरै माथि हो । यसअघि नै बाढी पूर्वानुमान शाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीकाअनुसार गोर्खाको चुमनुब्री गाउँपालिकामा खसेको पहिरोका कारण नदी थुनिएर क्यास्केडिङ इफेक्ट (क्रमिक रूपमा फुट्ने प्रक्रिया) हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उपग्रहबाट प्राप्त तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ ।
बाढीका कारण गोरखा क्षेत्रमा फसेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । हाल बूढीगण्डकीको बाढी त्रिशूलीमा मिसिँदा त्रिशूलीको सतहमा करिव ३ मिटर बहाव बढ्ने आँकलन गरिएको छ। मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल्लो तटीय क्षेत्रमा मध्यम जोखिम रहेको शाखाले जनाएको छ । साथै, चितवन र नवलपरासीको तटीय क्षेत्रमा समेत नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने भएकाले आज साँझसम्म नदीको अवस्था सामान्य नहुँदासम्म शतर्क रहन सबैमा अपिल गरिएको छ ।
























