Breaking News
चितवनमा ३१० जना सहायक प्रहरी निरीक्षक दिक्षित (फोटोफिचर)

चितवन, असोज २१–
नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३ सय १० जना सहायक प्रहरी निरीक्षक दिक्षित भएका छन् ।
बुधबार आयोजित सहायक प्रहरी निरीक्षक आधारभूत तालिम–२ को १८०औं समूहको दिक्षान्त समारोहमा उनीहरु दिक्षित भएका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले सहायक प्रहरी निरीक्षकहरुलाई दिक्षित गराएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा जाँदा सहानुभूति, बफादारिता, धैर्यरता, सहनशीलता, संवेदनशीलता, अनुशासन, इमान्दारिता, आदेशको पालना, शारिरीक तथा मानसिक तन्दुरुस्ती जस्ता गुणहरु आत्मसाथ गर्दै नागरिक सेवामा खटिन निर्देशन दिए ।

तालिमबाट सिकेको व्यवसायिक सीप र ज्ञान जस्तो सुकै परिस्थितिमा पनि सेवा प्रवाह गर्न सक्षम बनाउने भन्दै दिक्षान्त समारोहमा ग्रहण गरिएको सपथलाई जीवनभर आफ्नो व्यवसायिक जीवनको मार्गदर्शक बनाउन संगठन र परिवारको गरिमालाई सदैव शीरमा सजाउन निर्देशन समेत दिए । उनले भने–‘जहाँ जटिलता छ, त्यहाँ समाधान होस्, जहाँ डर छ, त्यहाँ साहस बन्नुहोस्, जहाँ अन्याय छ, त्यहाँ कानुनको पक्षमा उभिनुहोस्, जहाँ नागरिकलाई प्रहरीको आवश्यकता छ त्यहाँ भरोसा योग्य प्रहरी बन्न उपस्थ्तिि हुनुहोस् ।’

प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारीले संगठनको साख र मर्यादा सदैव सर्वोपरि राख्नुपर्ने भन्दै व्यक्तिभन्दा माथि संगठन रहने मुल मन्त्रलाई आफ्नो सेवाकाल भर आत्मसाथ गर्नुहुनेमा विश्वास व्यत्त गरे । ‘समाज सदैव परिवर्तनशील छ, नगरिकका अपेक्षा र मान्यता समयक्रम अनुसार परिवर्तन भइरहन्छ । यसमा प्रहरी सेवा पनि सोही बमोजिम परिमार्जित तथा परिस्कृत हुनुपर्छ, लामो समयसम्म सेवा गर्ने अभिभारा तपाईहरुलाई छ, तालिमले मात्रै प्रदान गरेको विषयवस्तु र ज्ञान मात्रै प्रयाप्त नहुन सक्छ । त्यसका लागि स्वअध्ययन, स्वविकास तथा सदैव आफूलाई शिकारु बन्ने इच्छाशक्ति हुनुपर्छ’–निर्देशक दिँदै अधिकारीले भने ।

कार्यक्रममा नेपाल प्रहरी शिक्षालयकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले जुनियर प्रहरी अधिकृतहरु नेपाल प्रहरी संगठनका मेरुदण्ड रहेको तथ्यलाई सदैव आत्मसाथ गर्दै संगठनको श्रीवृद्धिमा तालिममा सिककेका ज्ञान र सीपको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुहुनेमा विश्वास व्यक्त गरिन् । प्रहरी सेवामा आधारभूत तालिम भनेको व्यवसायिक जीवनको स्थायी मानक र भातृत्वको आधारशीला रहेको भन्दै फरक पृष्ठभूमिबाट आएका प्रशिक्षार्थीहरुकबीचको आत्मीय सम्बन्ध पनि बनाउने बताइन् । उनले भनिन्–‘यस तालिमले केवल पेशागत ज्ञान मात्रै प्रदान गरेको छैन । प्रशिक्षकहरुले आफ्ना सम्पूर्ण अनुभव, सीप कौशल, अनुभव र संस्कार हस्तान्तरण गरि तपाईहरुलाई शून्यबाट योग्य राष्ट्र सेवक अधिकृतको रुपमा पुर्नजन्म दिनुभयो ।’

२७० दिनसम्म चलेको तालिममा ३१० जना सहभागि भएको नेपाल प्रहरी शिक्षालयका सूचना अधिकारी प्रहरी उपरीक्षक एक नारायण कोइरालाले जानकारी दिए । उनले दिक्षित भएका प्रहरी सहायक निरीक्षकहरुलाई आजैबाट कार्यक्षेत्रमा खटाईने बताए ।
दिक्षित पश्चात उपस्थित आफन्तहरुले सेवा क्षेत्रमा खटिएका प्रहरीहरुलाई बधाई ज्ञापन गरेका थिए । आफ्ना सन्तान प्रहरी सेवामा प्रवेश गरेकोमा उनीहरु खुशीको आशु झारिरहेका थिए ।





































