चितवन विशेष
कफीमा युवाको आकर्षण बढ्दै

चितवन, असोज २१-
गैंडाकोट–५ स्थित गणेश मन्दिरकी दिपिका पुन २० वर्षकी भइन् । उमेरले सानै भए पनि उनको परिचय भने कफीको स्वाद र सीपसँग जोडिएको छ । नारायणगढस्थित कफी ओ क्लबमा उनी अहिले प्रशिक्षकका रूपमा काम गर्छिन् ।
१६ वर्षको उमेरदेखि कफीसम्बन्धी तालिम लिन थालेकी दिपिका अहिले आफूले सिकेको सीप अरूलाई सिकाइरहेकी छन् । कफी बनाउनेदेखि कफी भुट्ने (रोस्टिङ) सम्मको काममा उनी दक्ष छिन् । कफी ओ क्लबमा अहिले ७२ जना तालिम लिइरहेका छन् । अधिकांश युवाको उद्देश्य कफीसम्बन्धी सीप सिकेर रोजगारी पाउनु हो । कतिपय भने विदेश जाने तयारीमा पनि कफीको तालिम लिन आउने गरेको उनले बताइन् ।
‘अष्ट्रेलिया, दुबई, बेलायत र युरोपका विभिन्न देश जानका लागि कफीको तालिम लिन आउनेहरू धेरै छन्,’ दिपिका भन्छिन्, ‘तर तालिम लिएपछि नेपालमै काम गर्ने र तालिम दिनेहरू पनि छन् ।’
उनको जस्तै सीप सिक्ने चाहना राख्ने युवाको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ । भरतपुर महानगरपालिका–५ की अनामिका थापालाई कफीको क्षेत्रमा लागेको करिब साढे दुई वर्ष भयो । उनी पनि सिक्दै र सिकाउँदै अघि बढिरहेकी छन् । एसईई वा कक्षा १२ दिएपछि धेरै युवा कफीको तालिम लिन आउने गरेको उनको अनुभव छ । सुरुमा आफूले रोजेको यही पेशालाई उनले अहिले आफ्नो करिअरका रूपमा अघि बढाइरहेकी छन् ।
अनामिका कफी वर्कसप ट्रेनिङ सेन्टरमा बारिस्टा तालिम दिन्छिन् । पढाइ पूरा गरेपछि सीप सिकेर तत्कालै काममा जोडिन सकिने भएकाले युवामा यसप्रतिको आकर्षण बढेको उनको बुझाइ छ ।
सुनवलका जिमी गुरुङले कफी पसल सञ्चालन गरेको पाँच वर्ष भयो । सुरुवाती दिनको तुलनामा अहिले उनको व्यवसायमा ग्राहकको संख्या उल्लेख्य रूपमा बढेको छ । ‘कफी खाने मानिस बढिरहेका छन् । पहिले दैनिक ४०–५० जना आउँथे । अहिले १०० देखि १५० जनासम्म आउँछन्’ उनले भने ‘कफी व्यवसाय आम्दानीको राम्रो स्रोत बनेको छ ।’ विदेश जाने सोच नराखेका उनी नेपालमै कफी व्यवसायको सम्भावना बढ्दै गएको देख्छन् ।
कफीप्रतिको यही बढ्दो आकर्षणले चितवनमा कफी पसलको संख्या पनि विस्तार गरेको छ । चिया तथा कफी व्यवसायी संघ चितवनका अध्यक्ष पदम बानियाँका अनुसार जिल्लामा अहिले २५० भन्दा बढी कफी पसल सञ्चालनमा छन् । रेस्टुरेन्ट तथा होटलमा समेत कफीको बिक्री बढिरहेको छ । कफीसम्बन्धी तालिम प्रदान गर्ने चितवनका पहिलो व्यक्तिमध्येका सुदिस थापाका अनुसार करिब एक दशकअघि जिल्लामा १० वटा जति मात्र कफी पसल थिए । त्यसबेला महिनामा करिब ५०० किलो कफी खपत हुने गरेको थियो । अहिले भने जिल्लामा मासिक १ हजार ८०० देखि १ हजार ९०० किलोसम्म कफी खपत हुने गरेको उनी बताउँछन् ।
‘पहिले एउटा क्याफेमा औसतमा एक किलोसम्म कफी खपत हुन्थ्यो । अहिले एउटै क्याफेमा चार किलोसम्म खपत हुने गरेको छ,’– थापा भन्छन् । चितवनमा रहेका कफी पसलमध्ये करिब ६५ प्रतिशतले थापामार्फत कफीका दाना लैजाने गरेको उनको भनाइ छ । बढ्दो माग पूरा गर्न नेपालबाहेक भारतबाट ठूलो मात्रामा कफी आयात भइरहेको छ ।
नेपालका करिब ४५ जिल्लामा कफी खेती हुने गरेको छ । तर स्वदेशी उत्पादनले बजारको मागको करिब ३५ प्रतिशत मात्र धान्ने गरेको थापाको भनाइ छ । बाँकी करिब ६५ प्रतिशत कफी भारतबाट आयात हुने गरेको छ । बढ्दो मागका कारण अब ब्राजिलबाट समेत कफी आयात गर्ने तयारी भइरहेको उनी बताउँछन् । चितवनमा मात्रै कफी व्यवसायबाट दैनिक करिब १ करोड २० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको थापाको अनुमान छ ।
उत्पादन, प्रशोधन, रोस्टिङ, बारिस्टा तालिमदेखि क्याफे सञ्चालनसम्म कफीले रोजगारी र उद्यमका नयाँ अवसर सिर्जना गरिरहेको उनले बताए । कफी पसल सञ्चालनका लागि धेरै ठूलो लगानी आवश्यक नपर्ने व्यवसायीहरू बताउँछन् । करिब ९ लाख रुपैयाँसम्मको लगानीमा कफी पसल सञ्चालन गर्न सकिने सुदिस थापाको भनाइ छ ।
कफीको मूल्य पनि बजारमा फरक–फरक छ । अहिले चितवनमा ८० रुपैयाँदेखि ७०० रुपैयाँसम्मका कफी उपलब्ध छन् । कफीको प्रकार, गुणस्तर र पसलको प्रकृतिअनुसार मूल्य निर्धारण हुने गरेको उनले बताए । कम लगानीबाट व्यवसाय सुरु गर्न सकिने र ग्राहकको संख्या पनि बढिरहेको अवस्थामा युवाका लागि कफी व्यवसाय आकर्षक बन्दै गएको उनले बताए ।
चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली युवाको कफी व्यवसायप्रतिको आकर्षण बढ्दै गएको बताउँछन् । ‘अन्य धेरै पेशामा युवाको आकर्षण कम देखिन्छ । कफी व्यवसायमा भने राम्रो सम्भावना छ,’– उनी भन्छन् । ओलीका अनुसार अब कफी पसल र क्याफेमा मात्र सीमित नभई कफी खेतीतर्फ पनि युवालाई आकर्षित गर्न आवश्यक छ । सरकारले कफी खेतीलाई प्रवद्र्धन गर्न सके स्वदेशी उत्पादन बढाउनुका साथै आयातमा निर्भरता घटाउन सकिने उनको भनाइ छ ।























