चितवन विशेष
भूमिगत सिँचाइबाट चितवनका तीन हजार ५८४ हेक्टर सिञ्चित

चितवन,असोज २१-
जिल्लामा विगत छ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार ५८४ हेक्टर क्षेत्रफल सिञ्चित गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लाका विभिन्न ठाउँमा भूमिगत सिँचाइमार्फत सो क्षेत्र सिञ्चित गरेको हो ।
आयोजनाका प्रमुख विश्ववन्धु केसीका अनुसार आयोजनाले २०७७ सालबाट काम सुरु गरेको हो । आयोजनाले काम सुरु गरेपछि जिल्लामा १४२ वटा डिपबोरिङ र ३५७ वटा पावरड्रिल ट्युबेल जडान गरी सो क्षेत्रमा सिँचाइ गरिएको हो । आयोजनाले चितवनसहित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र मकवानपुर जिल्ला पनि हेर्दै आएको छ । जसमा आयोजनाले हालसम्म पाँच हजार ११७ हेक्टर क्षेत्रफल सिञ्चित गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जिल्लामा गरी २०२ वटा डिपबोरिङ र ६७० वटा पावरड्रिल ट्युबेल जडान गरिएको छ ।
पहाडी क्षेत्र र सिँचाइको अभाव भएका ठाउँमा यस परियोजनाले सिँचाइको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो । सिँचाइको व्यवस्था भएसँगै सो क्षेत्रमा बेमौसमी तरकारी, समयमा अन्नबाली लगाउने गरेका छन् । पछिल्ला वर्ष आयोजनामा बजेट कम हुँदा मागअनुसार काम गर्न नसकिएको उहाँले बताउनुभयो । यस वर्ष आयोजनाले विगतमा निर्माण गरेका ट्युबेलहरूको बाँकी काम गर्दैछ । कतिपय ठाउँमा ट्युबेल निर्माण गरेर पाइपलाई जडानको काम बाँकी छ । पहिलेपहिले पानीको अभावमा खेती गर्न नपाएका किसानले अहिले नगदेबाली लगाएर आयआर्जन वढाउन थालेका छन् ।रासस























