चितवन विशेष
नारायणगढ बजार जोगाउन नारायणीमा दीर्घकालीन तटबन्धन गर्न चितवनका व्यवसायीको माग

कृष्ण आचार्य,
भरतपुुर,असोज १९-
नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै चितवनका व्यवसायीले दीर्घकालीन तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार चितवन क्षेत्र नं. २ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष सुमन श्रेष्ठलगायतको टोलीले लामिछानेलाई भेटेर नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको छ । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्नुपर्ने बताएका छन् ।
नारायणी नदीमा गरिएको तटबन्धन कतिपय स्थानमा अधुरो रहेको तथा भएका संरचनासमेत पर्याप्त र व्यवस्थित नभएको उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले बताउनुभयो । उहाँले बाढी तथा नदी कटानको जोखिम बढ्दै जाँदा नारायणगढ बजारको व्यापारिक गतिविधि र सर्वसाधारणको सुरक्षामासमेत असर पर्न सक्ने भन्दै तत्कालीन र दीर्घकालीन दुवै प्रकारका समाधान खोज्न माग गरिएको बताउनुभयो ।
नारायणगढ बजार संरक्षणका लागि स्थानीय संघसंस्था, टोल विकास संस्था र सरोकारवालाले समेत ध्यानाकर्षण गराएको जानकारी सभापति लामिछानेलाई गराएको ओलीले बताउनुभयो । व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
नदी नियन्त्रणका लागि कुन क्षेत्रमा कस्तो संरचना आवश्यक छ भन्ने विषयमा प्राविधिक अध्ययन महत्वपूर्ण हुने भएकाले अध्ययनको आधारमा दीर्घकालीन योजना बनाउनुपर्नेमा सभापति लामिछानेको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठले नारायणी नदीको दीर्घकालीन व्यवस्थापनसँगै चितवनको औद्योगिक वातावरण सुधार र शक्तिखोर औद्योगिक क्षेत्रको विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँका अनुसार चितवनमा उद्योग व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न राज्यको नीतिगत तथा व्यवहारिक सहयोग आवश्यक रहेको भन्दै ध्यनाकर्षण गराइएको छ ।
यसैबीच उद्योग वाणिज्य संघ चितवनको टोलीले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीलाई समेत भेट गरेको छ । भेटमा उद्योगी व्यवसायीले भोगिरहेका नीतिगत समस्या तथा तिनको व्यवहारिक समाधानका विषयमा छलफल भएको जनाइएको छ । व्यवसायीहरूले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै लिखित रूपमा समेत ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको विषय उठ्दै आए पनि अपेक्षित रूपमा काम अघि बढ्न नसकेको भन्दै उनीहरूले उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा नीतिगत वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।
























