Breaking News
नारायणी किनारको बुद्धमूर्तिः पर्यटनको आकर्षणदेखि बाढीको सूचकसम्म

भरतपुर,असोज १९-
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा रहेको बुद्धको मूर्ति पर्यटकीय आकर्षणको केन्द्र मात्रै होइन । पछिल्लो समय नारायणी नदीको जलस्तर मापन गर्ने एउटा अनौपचारिक ‘सूचक’ समेत बनेको छ । नारायणीमा पानीको बहाव र सतह कति बढ्यो भन्ने जान्न स्थानीयवासीले यही बुद्धको मूर्तिलाई हेर्ने गरेका छन् । तर त्यो जलमापन केन्द्र भने होइन ।
नारायणगढका सूनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले २०७२ सालमा निर्माण गरेको मूर्ति हो । मूर्ति बनाइएको स्थानमा ब्रिटिसले डुङ्गा तार्न बनाईएको खम्बा थियो । सोही स्थानबाट पुल बन्नुभन्दा अगाडि सवारी साधान वारपार गर्नका फेरी राखिएको थियो । पुल बनेपछि त्यहाँ बुद्धको सानो मूर्ति थियो । घरिघरी भत्किने भएपछि शाक्यले बुद्धको ठूलो मूर्ति बनाएका हुन् ।
‘फेरी तार्ने खम्बामा सानो मूर्ति थियो । त्यो राम्रो भएनन भन्ने कुरा उठिरह्यो । तपाईले बनाउनु भन्ने धेरैले अनुरोध पनि गरेँ,’ उनले भने ‘त्यसपछि यो मूर्ति बनाएको हुँ ।’ यस मूर्तिसम्म प्रत्येक वर्ष नारायणीको पानी आउँछ । त्यस वरपरका अन्य संरचना बगाएपनि त्यो मूर्ति भने बगाएको छैन । शाक्यका अनुसार त्यो मूर्ति ३७ फिट लामो छ । ‘जमिनमूनि २० फिट गहिरो गाडिएको छ जमिन माथि १६ फिट अग्लो छ’, उनले भने । त्यो मूर्तिको टाउकोसम्म आयो भने नारायणगढ बजार नै डुबाउने उनको दाबी छ ।
‘मूर्तिको कमलको फूल (पिर्का)भन्दा माथि आयो भने खतरा घण्टी हो । बुद्धको टाउकोसम्म आयो भने नारायणगढ डुब्छ,’ उनले भने ‘यस मूर्तिमा कमलको फूल भएको भागसम्म पानीको सतह आयो भने देवघाटमा रहेको जलमापन केन्द्रमा खतराको तह पार गरेको हुन्छ ।’ यसपटक बुद्धको घाँटीसम्म पानी आउँदा उद्योग वाणिज्य संघपछाडिको रोडसम्म पानी पसेको उनले बताए । मूर्तिलाई ढाक्नेगरी नदी आएमा नारायणगढ बजारमा आउने उनले बताए ।
त्यहाँ उनले मूर्ति मात्र बनाएका छैनन् । मूर्तिको आडमा चौतारा समेत निर्माण गरेका छन् । चौतारामा वर, पिपल र स्वामीको बिरुवा उनले सारेका छन् । मूर्तिसहित सबै निर्माण गर्दा एक करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
‘पहिला एक करोड १५ लाख खर्चिएर मृर्ति मात्र बनाए । पाँच वर्षअघि आएको बाढीले मूर्तिमा क्षति ग¥यो । मर्मत गर्ने बेलामा चौतारा पनि बनाए । त्यतिखेर ३५ लाख खर्च भयो’, उनले भने । मूर्ति मात्र भएको स्थानमा पिपलको बोट सारेको उनले बताए । ‘सपनामा कसैले मूर्तिको बोट सार्नुभन्यो । त्यसपछि साथीभाईको सल्लाहामा वर, पिपल र समीको बिरुवा समेत ल्याएर सारेको हुँ,’ उनले भने ।
बुद्धको मूर्ती आफ्नै व्यक्तिगत सोच र सक्रियतामा स्थापना गरिएको उनी बताउँछन् । मूर्तीले स्थानीय क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व अझ बढाएको उनको भनाइ छ । शाक्यका अनुसार यसअघि आएका ठूला बाढीहरूले यस क्षेत्रमा केही क्षति पु¥याए पनि बुद्ध मुर्तिको स्थापनापछि यस क्षेत्रको प्राकृतिक र आध्यात्मिक पहिचान अझ बलियो बनेको छ । उनले यो कार्य कुनै व्यावसायिक लाभभन्दा पनि भगवान बुद्धको शक्ति र प्रेरणाले सम्भव भएको उल्लेख गरे ।
भविष्यमा यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाहरूको संयुक्त सहयोग आवश्यक रहेको उनले औंल्याएका छन् । ‘यस प्रकारका रचनात्मक कार्यहरूले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै समग्र क्षेत्रको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा छ, उनले भने ।’ धेरैले बुद्धको मूर्तीनेर गएर फोटो खिच्ने र भिडियो बनाउने गर्छन् । त्यस वरपर चटपट लगायतका फास्टफुड बनाउने व्यापारीले आफ्नो ठेला लगेर राख्छन् । असोज ११ गतेको बाढीले नदी किनारको प्रदर्शनी मैदानलाई क्षतविक्षत बनाएको छ । विगतमा मेला महोत्सव भइरहेको यो ठाउँमा कतै बगर बनेको छ त कतै ताल बनेको छ । तरपनि ठेला व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय थालिसकेका छन् ।
व्यवसायी शाक्यले यस स्थललाई थप व्यवस्थित गर्दै आगामी दिनमा धार्मिक पर्यटकहरूको प्रमुख आकर्षण केन्द्र बनाउने योजना रहेको बताएका छन् । शाक्यका अनुसार, उनले कुनै इन्जिनियरिङ मापदण्ड वा हिसाबबिना आफ्नै व्यक्तिगत विचार र त तवरले उक्त बुद्धको मूर्ति स्थापना गरेका थिए । इतिहासकै ठूलो बाढीले पनि मूर्तीलाई कुनै असर नपु¥याएपछि शाक्यले यसलाई ‘भगवान बुद्धको शक्ति नै मान्नुपर्ने’ बताउँछन् ।
भगवानको कृपा र सबैको प्रयासले यसपटक पनि बुद्धको मूर्ती र चौतारोमा कुनै ठूलो क्षति नभएको उनी बताउँछन् । नारायणी नदी किनार क्षेत्रमा पर्यटकहरूको आकर्षण बढाउन, स्वास्थ्यवद्र्धक वातावरणको आनन्द लिन र यस क्षेत्रलाई सिबीच मोडलको रूपमा विकास गर्न स्थानीय सरकार र सम्बन्धित निकायको सहयोग अपरिहार्य रहेको शाक्यले औँल्याए । बुद्धको मूर्तिको आडमा केही वर्ष अगाडि हात्तीका मूर्ति समेत थिए । २०८१ सालमा आएको बाढीले बगाएको थियो ।






















