चितवन विशेष
विश्व अण्डा दिवसः अण्डाको महत्व बुझाउँदै चितवनमा ‘एग वाक’ हुने

चितवन, असोज १६–
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यसवर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रवद्र्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउँदै दिवस मनाउन लागिएको हो ।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९, २०२६ शुक्रबार मनाइँदैछ । यसवर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।
उहाँका अनुसार दिवसको अवसरमा अण्डाको महत्वबारे जानकारी गराउन देशभर विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिनेछ । दिवसको एक साताअघिदेखि नै विद्यालयमा अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका तथा सन्तुलित आहारमा यसको महत्वबारे विद्यार्थी र अभिभावकलाई जानकारी गराउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
चितवनमा भने नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसईसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिनेछ । असोज २३ गते बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट ‘एग वाक’ आयोजना हुनेछ । उद्योग संघ चितवनबाट सुरु हुने एग वाक नारायणगढको शहीद चोक पुगेर समापन गरिनेछ ।
एग वाकमा अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा अण्डाको महत्वबारे जानकारी दिइनेछ । अण्डाको उपभोग र यसको पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रचारप्रसारसमेत गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसनसमेत आयोजना गरिनेछ । कार्यक्रममा अण्डाको उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको महत्त्वलगायत विषयमा छलफल गरिनेछ ।
अध्यक्ष पोखरेलले विश्व अण्डा दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य तथा पोषण क्षेत्रका विज्ञ, व्यवसायी, किसान, सञ्चारकर्मी, विद्यार्थी, उपभोक्ता लगायत सबै सरोकारवालालाई सहभागी हुन आग्रह गर्नुभएको छ ।
उहाँले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएकाले यसको पौष्टिक महत्वबारे सही जानकारी प्रवाह गर्न दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । दिवसका माध्यमबाट अण्डाको पोषणसम्बन्धी जनचेतना बढाउँदै स्वस्थ तथा सन्तुलित आहारको प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
अध्यक्ष पोखरेलले अण्डा शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । चिकित्सकहरुलाई उदृत गर्दै अध्यक्ष पोखरेलले भन्नुभयो “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन् ।”
अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशी निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको शारीरिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । अण्डामा पाइने कोलिन मस्तिष्कको विकास तथा स्नायु प्रणालीको सामान्य कार्यका लागि आवश्यक हुने र पहेँलो भागमा पाइने ल्युटिन तथा जेक्स्यान्थिनले आँखाको स्वास्थ्यमा योगदान पु¥याउने विज्ञहरुको भनाई छ ।
त्यस्तै, अण्डामा पाइने ओमेगा–३ लगायतका पोषक तत्वले मुटु, मस्तिष्क तथा आँखाको स्वास्थ्यमा भूमिका खेल्ने संघले जनाएको छ । प्रोटिनयुक्त भएकाले अण्डाको सेवनले लामो समयसम्म पेट भरिएको महसुस गराउन सहयोग गर्ने भएकाले सन्तुलित आहारको हिस्सा बनाएर सेवन गर्दा तौल व्यवस्थापनमा समेत सहयोग पुग्न गर्दछ ।
अण्डामा कोलेस्ट्रोल पाइने भए पनि त्यसको प्रभाव सबै व्यक्तिमा समान नहुने विज्ञहरु बताउँछन् । व्यक्तिको स्वास्थ्य अवस्था, खानपान र जीवनशैलीअनुसार प्रभाव फरक पर्न सक्ने भएकाले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको हिस्साका रूपमा सेवन गर्नुपर्ने उनीहरुको भनाई छ ।

























