चितवन विशेष
रत्ननगर बकुलहर अस्पतालमा सेवा बिस्तार, हिस्टोप्याथोलोजी ल्याब स्थापना

चितवन, असोज १५–
चितवनको रत्ननगरस्थित टाँडीमा रहेको बागमती प्रदेशस्तरीय रत्ननगर बकुलहर अस्पतालमा सेवा बिस्तार गरिएको छ । अस्पतालको प्रयोगशाला सेवा बिस्तार गर्दै हिस्टोप्याथोलोजी ल्याब स्थापना गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङले संयुक्त रुपमा ल्याबको समुद्घाटन गरेका थिए ।
मुख्यमन्त्री थापाले हिस्टोप्याथोलोजी सेवा अस्पतालकै ल्याबबाट परीक्षण तथा रिपोर्टिङ हुन थालेकाले अबदेखि बिरामीले शल्यक्रिया पश्चात मासुको जाँच बायोप्सी टेष्ट गराउन काठमाडौं र भरतपुर सम्म धाउनु नपर्ने भएकाले खुशी व्यक्त गरे । स्वास्थ्य मन्त्री तामाङले दैनिक एक हजार २०० माथी बहिरंग (ओपीडी) सेवा लिन आउने यो अस्पतालमा विभिन्न किसिमका शल्यक्रिया हुने गरेकोमा मासुको जाँच (बायोप्सी) जाँचका लागि पनि अब यसै अस्पतालमा हिस्टोप्याथोलोजी ल्याब सेवा बिस्तार भएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनहरुमा यस अस्पताललाई प्रदेश सरकारको तर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता जनाउँदै विभिन्न उपकरण, बजेटदेखि अस्पतालका आवश्यकतालाई नजिकबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अस्पतालका अस्पतालका निमित्त निर्देशक डा.अंकुर पौडेलले अस्पतालले प्रवाह गरिरहेका सेवा बारे प्रष्ट पार्दै जनशक्ति र भौतिक संरचनाको अपर्याप्ता रहेको बारे जानकारी गराए । हिस्टोप्याथोलोजी ल्याब सेवा बिस्तारले बिरामीहरुमा उपचारका लागि सहज हुने बताए । अस्पतालका कन्सल्ट्यान्ट प्याथोलोजिष्ट डा. रमेश पौडेलले हिस्टोप्याथोलोजी सेवा निक्कै जटिल र महत्वपूर्ण रहेको भन्दै यस अन्तरगत मासुको डल्लाबाट क्यान्सर रोग लागे/नलागेको बारे प्रष्ट भन्न सकिने र पत्त लगाउन सकिने भन्दै अस्पतालमा ल्याईएको उपकरण गुणस्तरीय रहेको बताए । अब्बल जनशक्ति सहित सेटअप रहेको हिस्टोप्याथोलोजी ल्याबबाट अन्य क्यान्सर अस्पतालहरुबाट गरिएअनुसारकै गुणस्तरीय र फाईनल रिपोर्ट हुने भन्दै यो सेवाबाट यस भेगका बिरामीहरुमा लाभ मिल्नेमा आफू विश्वस्त रहेको बताए । उनले बिरामीहरुलाई पनि ढुक्क भई बायोप्सी जाँचका लागि आउन अनुरोध गरे ।

अस्पतालका ल्या.टे.नि. सुरज अधिकारीले प्याथोलोजी सेवामा हिस्टोप्याथोलोजी सेवा निक्कै जटील रहेको बताए । अधिकारीले भने–‘अन्य सेवा सरह सबै तिर नहुने हुँदा यसअघि हाम्रो अस्पतालमा शल्यक्रिया पश्चात् मासुको डल्ला हातमा बोकी जाँच हुने ठाउँ खोज्दै हिड्नु पर्ने र महगो शुल्क बुझाउनु पर्ने बाध्यता थियो । अब उप्रान्त ती बाध्यताको अन्त्य भएको छ । हाम्रो अस्पतालमा बायोप्सि जाँच बिमा अन्तरगत पर्ने हुँदा बिरामीलाई आर्थिक भार समेत खासै नपर्ने र रिपोर्ट समेत समय सिमा भित्रै चाडै आउने छ ।’ प्रयोगशाला बिभागलाई यो उपलब्धि सबैको संयुक्त साथ र सहयोबाट सम्भव भएकाले अधिकारीले अस्पताल टिम तथा अस्पताल संचालन तथा व्यवस्थापन समिति सबै प्रति प्रयोगशाला परिवारको तर्फबाट आभार व्यक्त गरे ।
अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले बायोप्सी जाँच आफ्नै अस्पताल ल्याबबाट सुरुभएकोमा खुशी व्यक्त गर्दै अस्पताल टिम तथा प्रयोगशाला परिवारलाई धन्यवाद दिए । अध्यक्ष कर्माचार्यले बागमती प्रदेशका मुख्यमन्त्री थापासामु अस्पतालमा एउटा सिटी स्क्यान मेसिन उपलब्ध गराईदिन माग समेत गरे । यस्तै समयसिमा नाघिसक्दा समेत निर्माणाधीन मातृ तथा शिशु भवन हस्तान्तरण नभएकाले सो भवन चाडो भन्दा चाडो सम्पन्न गराई प्रयोगमा ल्याउने बातावरण मिलाई माग समेत गरे ।

अध्यक्ष कर्माचार्यले भने–‘सिटी स्क्यान मेसिन र भवन प्राप्त भएमा अन्य सानातिना कामहरु हामी अस्पताल आफैबाट पनि सम्पादन गराउन सकिन्छ । दैनिक बिरामीको चाप बढी हुँदाहँदै पनि अस्पतालले चाडो फड्कोमार्नुमा यहाँका संघसंस्था, राजनिती दल, स्थानीय सरकार, उद्योग बाणिज्य संघ, पूर्व अध्यक्षहरु लगायत कर्मचारी, डाक्टर सबैको महत्वपुर्ण साथ र सहयोगले गर्दा सम्भव भएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णप्रसाद सिलवाल, हरि पन्त, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका निर्देशक नारायण बहादुर कार्की, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिर, अस्पतालका पूर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य विश्वनाथ खनाल, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव प्रताप डल्लाकोटीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो ।


























