चितवन विशेष
तमू प्ये ल्हु संघद्वारा सञ्चारकर्मी संघ चितवनका अध्यक्ष हिरालाल गुरुङलाई सम्मान

चितवन
तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले तमू (गुरुङ) सञ्चारकर्मी संघ चितवनका नवनिर्वाचित अध्यक्ष तथा इच्छाकामना एफएमका समाचार प्रमुख हिरालाल गुरुङलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ।
तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा गुरुङलाई गुरुङ समुदायको मौलिक संस्कारअनुसार फेटा लगाउनुका साथै सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो। तमू ९गुरुङ० सञ्चारकर्मी संघ चितवनको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित गुरुङलाई नयाँ जिम्मेवारीका लागि सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो।
सम्मानपछि बोल्दै अध्यक्ष गुरुङले तमू (गुरुङ) सञ्चारकर्मीहरूको हक,हित र अधिकारका विषयमा आफूले सशक्त रूपमा आवाज उठाउने बताए। उनले सञ्चारकर्मीहरूबीच एकता र सहकार्यलाई प्राथमिकता दिँदै गुरुङ समुदायका भाषा,संस्कार,संस्कृति,परम्परा तथा पहिचानका विषयलाई सञ्चारमाध्यममार्फत थप प्रभावकारी रूपमा उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तमू समुदायको आवाजलाई राज्यका सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताए।























