देश/प्रदेश

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

०
Banner

रसुवा, असोज १३ –

विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो । भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले ती केन्द्र सञ्चालनमा ल्याइएका हुन् ।

हालसम्म स्थापना गरिएका केन्द्रमध्ये नौ वटा केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी चार वटा सञ्चालनको क्रममा छन् । हाल सञ्चालनमा रहेका केन्द्रमा ४६२ जना बालबालिकाले आश्रय पाएका छन् ।

केन्द्रमा आउने बालबालिकाको उमेर र आवश्यकताअनुसार खेलकुद, मनोरञ्जन, सिकाइ, सिर्जनात्मक, मनोसामाजिक सहयोगसम्बन्धी गतिविधि सञ्चालित छन् ।

केन्द्रले बालबालिकालाई विपद्पछिको परिस्थितिमा सुरक्षित र सकारात्मक वातावरणमा आफ्ना भावना व्यक्त गर्न, साथीसँग घुलमिल हुन र रचनात्मक कार्यमा सहभागी हुन ठूलो अवसर प्रदान गरेको छ ।

हाल ती केन्द्रमा २१९ जना बालक र २४३ जना बालिका छन् । उमेर समूहका आधारमा पाँच वर्षभन्दा कम उमेरका ८८ जना र पाँच वर्ष उमेर समूहभन्दा माथिका ३७४ जना छन् । केन्द्रमा सहभागी बालबालिकामध्ये एक जना अपाङ्गता भएका रहेको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>