देश/प्रदेश

राष्ट्रिय परिचयपत्र विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न विभागको आग्रह

०
Banner

काठमाडौँ,कात्तिक १६ –

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा समेत सार्वजनिक सेवा प्रवाह भइरहेको विभागले स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा र सवारी चालक अनुमतिपत्रलगायतका सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो ।

विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ । तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।

विभागले २०८३ असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ ।

अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ ।

विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायहरूलाई जानकारी गराउनुका साथै आवश्यक समन्वयसमेत गरिसकेको जनाएको छ ।

पछिल्लो समय राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेको थियो । यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएको कारणले मात्र सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ ।

विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>