देश/प्रदेश

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम

०
Banner

काठमाडौँ, असोज १३ –

नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ ।

तालिममा नेपालमा सौर्य र ब्याट्री सञ्चय प्रणालीको वर्तमान अवस्था, औद्योगिक कार्बन उत्सर्जन कटौती, ऊर्जा व्यवस्थापन, ग्रिड सेवा, ब्याट्री प्रविधि, सुरक्षा मापदण्ड, साइबर सुरक्षा, वातावरणीय तथा सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषयमा सहभागीलाई ज्ञान दिइने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)द्वारा सञ्चालित तालिममा ४५ जना इन्जिनियरको सहभागिता छ ।

‘औद्योगिक क्षेत्रका लागि सोलार पिभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीः डिजाइन, जडान र सुरक्षा’सम्बन्धी उच्चस्तरीय उक्त तालिम प्राक्टिकल एक्सन र घामपावर नेपालको सहकार्यमा भएको हो ।

तालिममा देशभरका निजी क्षेत्र, शैक्षिक तथा अनुसन्धान संस्थान र सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि सहभागिता छ । तालिमका अवसरमा सैद्धान्तिक ज्ञानका अतिरिक्त सहभागीलाई वास्तविक औद्योगिक परिदृश्यमा आधारित समूहगत अभ्यास र क्षेत्रीय अवलोकन भ्रमणमार्फत व्यावहारिक अनुभव गराइने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ ।

नेपालले स्वच्छ ऊर्जा विस्तार, सुरक्षा तथा हरित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको सन्दर्भमा सौर्य ऊर्जा प्रयोगका माध्यमद्वारा समग्ररुपमा उर्जाको खपत घटाउने तथा विद्युत् आपूर्ति भरपर्दो तुल्याउने केन्द्रले अपेक्षा गरेको छ ।

जलवायुजन्य विपद्ले ऊर्जा पूर्वाधारको जोखिमलाई रसुवा बाढीले उजागर गरेको सन्दर्भमा केन्द्रले जलविद्युत्मा आधारित उर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार नदी प्रणालीसँग जोडिएकाले मनसुनजन्य घटनाको जोखिमको समेत विश्लेषण गरिनुपर्ने आवश्यकता औँल्याएको छ ।

विद्युत् आयोजना बाढी पहिरोको जोखिम रहेको अवस्थामा सौर्य ऊर्जा र ब्याट्री सञ्चय प्रणालीले स्थानीयस्तरमै ऊर्जा उत्पादन र सञ्चय गर्न सकेको खण्डमा जलवायु सहनशीलता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने केन्द्रकी सञ्चालक समिति सदस्य अङ्किता शाहले बताउनुभयो ।

उहाँका अनुसार ऊर्जा उत्पादन र सञ्चय गर्न प्रवर्द्धन कार्यक्रमले हरित रोजगारी सिर्जना गर्न र नयाँ उद्यमशीलताका अवसर खोल्न टेवा पु¥याउनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>