देश/प्रदेश

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

०
Banner

मनाङ,असोज १३ –

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु गरिएको छ ।

नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।”

उहाँका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकोले त्यस क्षेत्रका केही घर डुबानमा परेका छन् ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घलेले स्थानीय उपलब्ध स्रोतसाधन प्रयोग गरी नदी खुलाउन सकियो भने स्थानीयवासीलाई छिट्टै घर फर्काउन सकिने जानकारी दिनुभयो । “विस्फोट गराइ चट्टान फुटाउँदा मस्र्याङ्दीको तटीय क्षेत्रमा बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “एक्साभेटरले अडिएका ढुङ्गा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ ।”

लमजुङ हिमाल शिर रहेको घट्टेखोलामा लेदोसहितको ठूला ढुङ्गाले मस्र्याङ्दी नदी थुनिएको हो । वरपरका क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लय फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नदी खुलाउन सकिएमा स्थानीयको त्रास र सहज वातावरण छिटो अन्त्य हुने उहाँको भनाइ छ ।

बाढी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत् आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानीय ङिस्याङ गाउँपालिका–४ हुम्देको बाढी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ । सब्जे खोलाबाट निकालिएको लघुजलविद्युत् आयोजना विद्युतगृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरुद्ध छ । यसअघि २०७८ सालमा सोही घट्टेखोला, ठाडो खोला र मस्र्याङ्दीको बाढीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>