देश/प्रदेश

मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु

०
Banner

बाजुरा, असोज १३ –

पूर्वी–उत्तरी क्षेत्र जोड्ने मार्तडी–कोल्टी सडकखण्ड तीन महिनापछि खुलाउन काम सुरु गरिएको छ ।

वर्षायाम सुरु भएसँगै असार दोस्रो सातादेखि अवरुद्ध रहेको सडकखण्ड आजबाट सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरेर सडक खुलाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकखण्डका विभिन्न स्थानमा पहिरो हटाउने तथा सडक मर्मत गर्ने काम सम्पन्न भएर अबको केही दिनमै सञ्चालन हुनेछ ।

मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा लगातारको वर्षाका कारण पहिरो खस्नुका साथै खोलामा पानीको बहाव बढेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो ।

सडक बन्द हुँदा पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।

सडक अवरुद्ध भएपछि यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा रु दुई हजारसम्म भाडा तिर्नुपर्दथ्यो । सडक बन्दकै कारण बीच बाटोमै सवारी रोकिएका छन् भने दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानीसमेत प्रभावित भएको छ ।

बडीमालिका नगरपालिका–८ को बाउली खोला र वडा नं ७ को रजातोली खोलामा पुल नहुँदा तथा जिल्ली, रजातोलीलगायतका स्थानमा पटकपटक पहिरो खस्ने समस्याले हरेक वर्ष सडक अवरुद्ध हुँदै आएको छ ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले गत वर्ष अनाई खोलामा र यस वर्ष बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पुल बनेपछि केही सहजता आएको भए पनि बाउली खोलाको पुल पाँच वर्षदेखि अधुरै रहेको बताउनुभयो । उहाँका अनुसार रजातोलीमा पुल निर्माण भइरहेको छ तर बाउलीमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण नागरिकले बर्सेनि सास्ती खेप्नुपरेको जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पूर्वी–उत्तरी भेगका किसानको स्याउ बजारसम्म पुग्नसकेको छैन । स्याउ किसान उज्ज्जल रावतले कृषि सडक बन्द हुँदा स्याउ ढुवानी गरेर बजारसम्म पुर्याउन नसकिएको बताउनुभयो ।

उहाँका अनुसार धेरै किसानले स्याउ पिठ्युँमा बोकेर सदरमुकाम मार्तडी ल्याउने गरेका छन् भने केहीले कर्णाली करिडोर हुँदै धनगढी र नेपालगन्जसम्म पुर्याउने गरेका छन् ।

करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै पूर्ण रूपमा स्तरोन्नति हुनसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको बहुवर्षीय योजनामा रहेको सडक कालोपत्र र स्तरोन्नतिमा भएको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदा नागरिकले सास्ती व्यहोर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ ।

पूर्वाधार विकास कार्यालय अछामकाअनुसार मार्तडी–कोल्टी सडकमा गत आर्थिक वर्षमा ठेकेदार कम्पनीले काम नगर्दा रु २० करोड बजेट फिर्ता भएको थियो ।

सडकखण्ड निर्माण तथा स्तरोन्नतिको जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले काम नगर्दा गत वर्षमात्र होइन, अघिल्ला वर्षहरूमा पनि ठेकेदारको ढिलासुस्तीका कारण करोडौँ रुपैयाँ बजेट फिर्ता हुँदै आएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>