देश/प्रदेश

तरकारीखेतीले फेरिएको जीवन

०
Banner

दीपक बोहरा ,

तुलसीपुर (दाङ), असोज १३ –

दाङको तुलसीपुर उपमहानगरपालिका–१३, बखरीगाउँका ७० वर्षीय सुन्दरलाल चौधरीको दैनिकी आजभोलि पनि आफ्नै हरियो करेसाबारीमा बित्छ । हातमा कोदालो बोकेर उहाँ बिहानैदेखि अर्गानिक तरकारी र वन कृषि फर्ममा व्यस्त देखिनुहुन्छ । उमेरले सात दशक नाघिसक्दा पनि उहाँको कृषिप्रतिको मोह भने घटेको छैन ।

आफू १६ वर्ष हुँदा तरकारीखेती सुरु गरेका सुन्दरलाल विगत पाँच दशकभन्दा लामो समयदेखि माटोसँग खेल्दै आउनुभयो । “खेतीपाती मेरो जीवनको अभिन्न अङ्ग बनिसक्यो”, उहाँले भन्नुभयो । उहाँको यो निरन्तरताले केवल घरको छाक मात्र टारेको छैन, तरकारीखेतीकै कमाइबाट दुई वटा गाडीसमेत किन्न सफल बनाएको छ । घरमै गाडी भएपछि उहाँका तीन छोराहरूले गाडी चलाउन सिकेपछि उहाँहरुलाई पनि आत्ननिर्भर हुन सहज भएको छ ।

सुन्दरलालको करिब डेढ बिघा जग्गामध्ये १० कट्ठामा व्यावसायिक तरकारीखेती भइरहेको छ । उहाँको बारीमा सिजनअनुसारका काँक्रो, लौका, फर्सी, भान्टा, करेला, गोलभेँडा, खुर्सानीलगायतका तरकारीखेती हुने गर्छन । तरकारी र फलफूलखेतीबाटै उहाँले वार्षिक रु एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।

त्यस्तै कडा परिश्रम र निरन्तरता दिने हो भने माटोमै सुन फलाउन सकिन्छ भन्ने अर्को गतिलो उदाहरण बन्नुभएको छ, तुलसीपुर–१३ बखरियाकै नवराज रावत । उहाँले पनि विगत १९ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडाखेती गर्दै आउनुभएको छ । २०६४ सालदेखि निरन्तर रुपमा उहाँ गोलभेँडाखेतीमा व्यस्त हुनुहुन्छ । उहाँ घरबाट अंशबन्डा हुँदा आठ कट्ठा जग्गा भाग परेको थियो । त्यही जग्गाबाट गोलभेँडाखेतीमा लाग्नुभएका उहाँ अहिले डेढ बिघा जग्गामा तरकारीखेती गर्नुहुन्छ । त्यो जग्गा पनि तरकारीखेतीबाटै जोडेको उहाँ बताउनुहुन्छ । “सुरुमा मेरो आठ कट्ठा मात्रै थियो, त्यही जग्गाबाट तरकारीखेती सुरु गरेँ”, उहाँले भन्नुभयो, “त्यसबेला केही जग्गा भाडामा लिएर पनि खेती गरेँ, अहिले डेढ विघा जग्गासमेत जोड्न सफल भएको छु ।”

त्यति मात्रै होइन, गोलभेँडाखेती गरेरै रावतले बखरियामा रु एक करोडभन्दा बढी खर्च गरेर पक्की घरसमेत बनाउनुभएको छ । उहाँले मासिक रु एक लाखभन्दा बढी गोलभेँडोतीबाटै आम्दानी गर्दै आएको बताउनुहुन्छ । रावतले उत्पादन गरेको गोलभेँडा अहिले दाङमा मात्र सीमित छैनन् । सुर्खेत र बुटवलसम्मका बजारमा पुग्ने गरेको छ । पछिल्लो समय नजिकैको शीतलपुरमा हाटबजार निर्माण भएपछि बजारीकरणमा थप सहज भएको उहाँ बताउनुहुन्छ ।

उहाँको फार्ममा अहिले १२ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । बखरिया क्षेत्र तरकारी उत्पादनका हिसाबले उत्तम क्षेत्र हो । जहाँ अन्य किसानहरुसहित गरी ४५ बिघाभन्दा बढी क्षेत्रफलमा यसरी तरकारीखेती हुने गरेको छ ।

तरकारीखेतीमै रमाउनेमा तुलसीपुर उपमहानगरपालिका–१६ रत्गै निवासी सुनिता चौधरी पनि हुनुहुन्छ । करिब तीन वर्षअघि तरकारीखेतीसम्बन्धी तालिम लिएपछि निरन्तर यही पेसामा आबद्ध भएर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको उहाँ बताउनुहुन्छ । आठ कट्ठा क्षेत्रफलमा गोलभेँडा, बोडी, भिन्डीलगायतका तरकारी उत्पादन गरेर आफैँ बजारसम्म लैजाने गरेको उहाँले यो पेसाले आफूलाई सन्तुष्ट बनाएको बताउनुभयो । “म एकल महिला पनि हुँ, समय बिताउन गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “दिनभर तरकारीखेतीमै व्यस्त हुन्छु, बिहान आफँै छिटुवामा बोकेर बजारसम्म लैजान्छु, समय बिताउन निकै सहज भएको छ, आम्दानी पनि उत्तिकै छ ।”

सुनिताजस्तै खेतीमा व्यस्त हुनुहुन्छ तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पा । कुनैबेला टिकटक, फेसबुकमा दिन बिताउने उहाँ अहिले घरआँगनसँगै जोडिएको ११ कट्ठा जग्गामा कागतीखेती गर्नुभएको छ । युट्युबबाटै सिकेर उहाँ यसरी तरकारीखेतीमा व्यस्त हुनुभएको हो । “मैले युट्युब हेरेर कागतीखेतीका बारेमा धेरै जानकारी पाएँ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा नै अहिले कागतीखेती गरिरहेकी छु ।” पाँच वर्षदेखि उहाँ यसै खेतीमा निरन्तर व्यस्त हुनुहुन्छ । आफ्नो बारीमा तीन सय वटा कागतीका बिरुवा रोपेकी सुलोचनाले गएको वर्षबाट राम्रो प्रतिफल पाउन थाल्नुभएको छ । गत वर्ष सबै खर्च कटाएर उहाँले रु डेढ लाख आम्दानी गर्न सफल हुनुभएको थियो ।

तुलसीपुर–११, मोतिपुरकै किसान यज्ञ खत्रीको तरकारीखेतीमा फरक अनुभव छ । उहाँले तरकारीखेती सुरु गरेको २२ वर्षभन्दा बढी भयो । जतिबेला घरमा खानका लागि पर्याप्त तरकारीसमेत हुँदैनथ्यो । बालबच्चालाई कसरी पढाउने र उनीहरूको भविष्य कसरी सुरक्षित गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गथ्र्यो । “पहिले त खाने तरकारीसमेत हुँदैनथ्यो, बालबच्चा कसरी पढाउने भन्ने पिर हुन्थ्यो”, उहाँले भन्नुभयो, “जब तरकारीखेती गरेँ, त्यसपछि जीवन धान्न निकै सहज भयो ।” हाल उहाँले डेढ विघामा कृषि खेती गर्नुभएको छ । “छोराछोरीले राम्रो स्कुल पढ्न पाएका छन्, तरकारीखेती गरेर पक्की घर बनेका छन्”, उहाँले भन्नुभयो, “तरकारी खेतीले निकै सहज बनाएको छ ।” उहाँका अनुसार सोही ठाउँमा तरकारी खेती गरेरै धेरै किसानको जीवनस्तर सुधार भएको छ ।

समुदायलाई अर्गानिकमा जोड्दै

दाङको तुलसीपुर उपमहानगरपालिका–१६, रत्गैका विनोद चौधरी भने तरकारीखेतीमा मात्रै व्यस्त हुनुहुन्न, उहाँ अर्गानिक कृषिखेतीको नेतृत्वसमेत गरिरहनुभएको छ । वर्षौंदेखि दुई बिघाभन्दा बढी जमिनमा तरकारीखेती गर्दै आउनुएका उहाँ पछिल्लो समय पाँच कट्ठामा अर्गानिक खेतीको अभ्यास सुरु गर्नुभएको छ भने गाउँका अन्य १० किसानलाई समेत समेटेर अर्गानिक कृषिमा आबद्ध गराउनुभएको छ ।

उहाँले ‘मिलीजुली कृषक समूह’ गठन गरेर अर्गानिक रुपमा गोलभेँडा, काँक्रा, बोडी, सिमी, लौका, करेलालगायतका तरकारी फलाउँदै आउनुभएको छ । “हामीले समूह नै बनाएर अर्गानिक खेती सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १० जना किसान यसमा आबद्ध छौँ ।” अहिले रासायनिक मलको साटो गड्यौला मल, झोल मल र गोबर मल प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँ आफैँ गड्यौला पालेर प्रतिकिलो रु १२ सयमा गड्यौला र प्रतिगोटा रु ३० मा किनबेचसमेत गर्नुहुन्छ ।

यस्तै अर्गानिक खेतीको अभियानमा हुनुुहुन्छ–तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका दीपक चौधरी । विगत १२ वर्षदेखि निरन्तर तरकारीखेतीमा रमाउनुभएका चौधरी भन्नुहुन्छ, “सुरुआती वर्षहरूमा रासायनिक मलकै प्रयोग गर्थें तर, पछिल्लो एक वर्षदेखि प्राङ्गारिक मल प्रयोग गर्ने गरेको छु ।” अहिले उहाँले आफ्नै बारीमा उत्पादित गड्यौला मल प्रयोग गरेर अर्गानिक तरकारी उत्पादन गरिरहनुभएको छ । हाल सात कट्ठामा तरकारीखेती गरिरहनुभएका उहाँ हिउँदको समयमा यसलाई विस्तार गरेर १७ कट्ठाभन्दा बढी पु¥यानुहुन्छ । तरकारीखेतीबाटै उहाँले वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

बजारमा पाइने विषादीयुक्त तरकारीलाई न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका किसान जुगराम चौधरीले पनि यसरी प्राङ्गारिक मल नै प्रयोग गर्दै आउनुभएको छ । नतासाह कृषि फर्ममार्फत काउली, आलु, गोलभेँडा, बोरी, लौकाको व्यवसाय गर्दै आउनुभएका उहाँले हाल प्राङ्गारिक मल प्रयोग गर्ने गरेको बताउनुभयो ।

प्राङ्गारिक मल प्रयोग गर्दा कहिलेकाहीँ किराले सताउने गरेको उहाँले बताउनुहुन्छ । एक बिघाभन्दा बढी क्षेत्रफलमा तरकारीखेती गर्दै आउनुभएका उहाँले हाल गड्यौला मलको प्रयोग गर्दै आउनुभएको छ । तरकारीेतीबाटै उहाँले वार्षिक आठ लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

तुलसीपुर– १६ कै चेतबहादुर डाँगी पनि अहिले अर्गानिक कृषकका रुपमा चिनिन थाल्नुभएको छ । स्थानीय ‘रग्गे मिलिजुली समूह’ मा आबद्ध भएपछि उहाँ पनि यसरी तरकारीखेतीमा आकर्षित हुनुभएको हो । तीन वर्षदेखि चेतबहादुर पूर्ण रूपमा अर्गानिक तरकारीखेतीमा तल्लीन हुनुहुन्छ । हाल उहाँको बारीमा काँक्रा, बोडी र गोलभेँडाजस्ता तरकारी लटरम्म फलेका देखिन्छन् ।

यी केही उदाहरणहरु तरकारीखेती गरेरै राम्रो आम्दानी गर्ने किसानहरुका हुन् । स्वदेशमै पनि तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश यी किसानहरुका उदाहरणबाट पनि हेर्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाले कृषि खेतीमा लागेकाहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख कुलराज दहितले बताउनुभयो । किसानहरुको कृषि बिमा गर्न प्रोत्साहनस्वरुप चालु आर्थिक वर्ष २०८३÷८४ मा उपमहानगरपालिकाले नै बिमाबापतको रकम उपलब्ध गराउने गरी बजेट बिनियोजन गरेको बताउनुभयो । “सङ्घीय सरकारले बिमामा ८० प्रतिशत तिरिदिने गरेको छ”, उहाँले भन्नुभयो, “बाँकी किसानले तिर्ने हो, तर चालु वर्षदेखि उपमहानगरपालिकाले तिरिदिनेछ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>