चितवन विशेष
चितवनका विभिन्न क्षेत्रमा डुबान, दर्जनौँ घरधुरी प्रभावित

चितवन, असोज ११-
लगातारको वर्षाका कारण चितवनका विभिन्न स्थानमा खोलानाला तथा नदीमा पानीको बहाव बढ्दा बस्तीमा डुबानको जोखिम बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणी नदीसहित स्थानीय खोलामा पानीको सतह बढेपछि केही बस्तीमा पानी पस्न थालेको छ भने केही स्थानमा सडकसमेत अवरुद्ध भएको छ ।
आइतबार पूर्वि चितवनको पम्पा खोला, राप्ती खोला, कैयर खोला लदरी खोलामा पानीको बहाब बढेको छ । भरतपुर महानगरपालिका १६ स्थित गुम्बाचौर झनझनेमा पनि नारायणी बस्तीमा छिरेको छ । भरतपुर महानगरपालिकाको १७ र १ नम्बर वडाका विभिन्न ठाउँमा बस्तीमा पानी छिरेको प्रहरीले जानकारी दिएको छ । त्यस स्थानबाट ११ घरधुरीलाई विद्यालयमा सारिएको छ । यता माडी नगरपालिका वडा नम्बर १मा ३५ घरधुरीका मानिसलाई नजिकैको आफन्तको घरमा स्थान्तारण गरेको प्रहरीले जानकारी दिएको छ । भरतपुर १ स्थित देवघाटका धर्मशाला, कुटी, मन्दिर, पसलहरु डुवानमा परेका छन् । उत्ता माडी नगरपालिका–१ अन्तर्गत रिउ खोलामा पानीको बहाव बढ्दा सेरुवा अमिलिया र चन्द्रपुरी बस्तीमा पानी पसेको थालेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा १० घरधुरीलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको छ । सोही वडाको अर्को क्षेत्रमा पानीको सतह बढेपछि भरतपुर–माडी–ठोरी सडक अवरुद्ध भएको छ ।
माडी नगरपालिका–९ कै प्याउली क्षेत्रमा पानी बस्तीमा पसेपछि ४ घरधुरीका १३ जनालाई शान्ति मण्डली चर्चमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका–८ मा पनि पानी बस्तीमा पस्न थालेपछि ११ घरधुरीका ७० जनालाई मगर होमस्टेमा सुरक्षित राखिएको छ ।
यसैबिच नारायणी नदी निरन्तर बढ्दो अवस्थामा रहेको छ । आइतबार बिहान ११ बजेसम्म नारायणीको पानीको मापत ११ दशमलव ५८ मिटर तहसम्म पुगेको छ । यो खतराको तहभन्दा निकै माथि हो । नारायणीमा ९ मिटरसम्मको तहलाई खतराको मापन गरिन्छ । उत्ता गैडाकोट तर्फ पनि नारायणीले डुवान गरेको छ । त्यहाँका १० घरलाई स्थानान्तरण समेत गरिएको छ ।























