देश/प्रदेश
पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने

काठमाडौं,असोज १० –
नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गएपनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ ।
मौसम विज्ञान विभागकाअनुसार आईतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको छ । पश्चिमी भूभागतर्फ भारी वर्षाको सम्भावना रहेकाले मौसमविद्ले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेकाअनुसार पछिल्लो समय गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा ती प्रदेशका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको उहाँले बताउनु भयो । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा तराई र खोँच क्षेत्रमा बाढीको जोखिम बढेको छ । भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्युन चापीय प्रणाली विस्तारै नेपालतर्फ सर्दै गएको उहाँले बताउनु भयो । यसको प्रभाव विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पर्ने उहाँको भनाई छ । उहाँकाअनुसार आईतवार दिउँसोसम्म वागमतीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भू–भाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा हुनसक्ने उहाँले बताउनु भयो । पूर्वी नेपालतर्फ भने मौसम क्रमशः सुधार हुँदै गएको उहाँको भनाई छ । केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँले बताउनु भयो । लगातारको वर्षाका कारण कमजोर पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च रहेकोले अनावश्यक यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो । अत्यावश्यक यात्रा गर्नुपरेमा प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न उहाँको सुझाव छ ।
लामिछानेकाअनुसार सोमवारदेखि भने देशभर मौसममा सुधार आउने सम्भावना छ । त्यसपछि मात्रै नियमित काम तथा कृषि गतिविधिको योजना बनाउन उहाँले आग्रह गर्नुभयो ।























