अन्तर्राष्ट्रिय
इरानको शान्ति प्रस्ताव ट्रम्पले अस्वीकार गरेको खुलासा

वासिङ्टन डीसी , असोज १० –
इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ । इरान भने अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा इरानले आफ्नो शान्ति प्रस्ताव सार्वजनिक गरेको थियो । इरानी विदेशमन्त्री अब्बास अराघ्चीका अनुसार कतारका मध्यस्थमार्फत प्रस्ताव अमेरिका समक्ष पठाइएको थियो । प्रस्ताव स्वीकार भएमा सात दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र क्षेत्रीय युद्धविरामतर्फ जाने व्यवस्था गरिएको छ ।
अराघ्चीले शुक्रबार संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी पक्ष सम्झौता गर्न र स्ट्रेट अफ होर्मुज खोल्न गम्भीर भए आवश्यक तयारी पूरा भइसकेको बताएका थिए । उनका अनुसार त्यसपछि दुवै पक्षले आपसी सहमतिका विषयमा थप वार्ताअघि बढाउन सक्नेछन् ।
तर द वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार ट्रम्पले इरानले आफ्ना माग पूरा गर्नेमा निजी रूपमा आशङ्का व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारीहरूसँग इरानमाथि पुनः बमबारी हुन सक्ने संकेत समेत दिएको रिपोर्टमा उल्लेख छ ।
इरानका मुख्य सर्त
इरानले प्रस्तावअन्तर्गत अमेरिकाले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने तथा इरानी तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने बताएको छ ।
यसको बदलामा तेहरानले सबै मोर्चामा जारी सैन्य गतिविधि रोक्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ । प्रस्तावमा लेबनानमा जारी सङ्घर्षसमेत समेटिएको छ ।
तर इरानको आणविक कार्यक्रम भने थप वार्ताको जटिल विषय बन्न सक्ने देखिएको छ । श्रोतका अनुसार, इरानी एक वरिष्ठ अधिकारीले इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी अधिकारमा कुनै सम्झौता नगर्ने बताएका छन् । यसमा युरेनियम संवर्धन गर्ने अधिकार र उच्च संवर्धित युरेनियम देशबाहिर पठाउने विषयसमेत समावेश छन् ।
ट्रम्पले भने इरानले आणविक हतियार बनाउन नपाउने आफ्नो अडान दोहोर्याउँदै आएका छन् । उनले संयुक्त राष्ट्रसङ्घको महासभामा पनि आणविक विषयमा सम्झौता नभए इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका थिए । एजेन्सी























