देश/प्रदेश

मुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

०
Banner

रेणु त्वानाबासु ,

ख्वप (भक्तपुर), असोज ९ –

नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा । ठीक यस्तै भक्तपुरमा पनि यस्तै एउटा जात्रा छ, मुपात्र जात्रा । यहाँं कहीँ नभएको मुपात्र जात्रा हुने गर्छ । आठ रात नौ दिन चल्ने भक्तपुरको इन्द्रजात्राको क्रममा यो जात्रा हुने गर्दछ । भक्तपुरको इन्द्र जात्राको सबैभन्दा आर्कषण परम्परामध्ये मुुपात्र जात्रा एक हो ।

मुुपात्रलाई शक्तिशाली र भयानक राक्षसको स्वरुपको रुपमा प्रस्तुत गरिन्छ । मुपात्रसँगै उनका दुुई सहयोगी हुन्छन् उनीहरुलार्ई स्थानीय भाषामा धिचा भनिन्छ । दुई सहयोगीले साथ दिन्छन् उनलाई । जात्राको क्रममा भक्तपुर नगरको गल्लीहरुमा उनीहरु आकर्षक राक्षक पोसाकमा अनुहारमा विभिन्न रङ पोतेर र तरबार बोकेर हिँड्छन् ।

कहाँबाट निकालिन्छ ?

भक्तपुरमा मुपात्रलाई तीन छुटाछुटै ठाउँहरुबाट निकालिने प्रचलन छ । पहिलो दिन भक्तपुरको दत्तात्रयको सकुलान गणेश मन्दिरबाट, दोस्रो दिन भक्तपुरको दरवार क्षेत्रबाट र तेस्रोअर्थात् अन्तिम दिन भक्तपुरको टौमढीस्थित भैरव मन्दिरबाट मुपात्र जात्रा निकाल्ने गरिन्छ । यो जात्रा साँंझको समयमा निकाल्ने परम्परा रहेको छ । यो जात्रा इन्द्रजात्राको छैटौँ दिनदेखि तीन दिन लगातार निकाल्ने गरिन्छ ।

मुुपात्रको मुुख्य काम इन्द्रजात्राको क्रममा भक्तपुरको टोलटोलमा ठहराइएको यमद्यो अर्थात इन्द्रको छोराको प्रतीकको रुपमा ठड्याइएको लिङ्गोलाई सजाय दिने रहेको छ । जात्रा अनुसार चोर भनेर समातेर टोलटोलमा राखेको यमद्योहरुलाई लगातार तीन दिन तरवारले तीन पटक हानेर जाने प्रचलन रहेको छ । यसरी नै यो जात्राको क्रममा भक्तपुरका टोलटालमा ठहराइएका सबै यमद्योलाई मुपात्रले तीन चोटी परिक्रममा गरेपछि तरवारले तीनै पटक नै प्रहार गर्ने चलन छ ।

याँमताको पछिपछि मुपात्र

भक्तपुरका जात्रापे्रमी स्थानीय राजभाइ माकले मुुपात्रसँगै याँमता पनि जोडिने गरेको बताउनुुभयो । उहाँका अनुसार जुन दिन याँमता निकालिन्छ, त्यही दिन मुपात्रा पनि निस्किने गर्दछ । याँमता ननिकालेसम्म मुपात्रा निस्कँदैनन् ।

स्थानीय भाषाको याँमताको अर्थ(आकाश दीप) हो, जुन दुुईवटा हुने गर्दछ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमताअर्थात् आकाश दीप हो । त्यसपछि मुपात्र जात्रा निकालिने गरिन्छ । मुपात्रलाई यमद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।

भक्तपुरको याँमता र मुपात्र इन्द्रजात्राको छैटौँ दिन अर्थात आश्विन कृष्ण द्वितीयाका दिन निकालिन्छ । पहिलोपटक भक्तपुर नगरपालिका–९ सकुलान टोलका मानन्धर समुदायले निकाल्छन् । नजिकैको दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडिबाट एक जोडा यामता ९आकाश दीप० निकालिने गरिन्छ र त्यही यामताको पछिपछि मुपात्रा लैजाने गरिन्छ ।

जात्राको सातौँअर्थात् मुपात्र जात्राको दोस्रो दिन आश्विन कृष्ण तृतीयाको बेलुका भक्तपुर नगरपालिका–७ गोल्मढीको मानन्धर समुदायको याँमता निकाल्ने चलन रहेको छ । गोल्मढी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । यस दिन गोल्मढीको मानन्धर समुदाय छुमा गणेश कहाँ गएर सुकुना (सुकुन्डा) बालेर आइसकेपछि जात्राको आठौँअर्थात् मुपात्र जात्राको तेस्रो दिन आश्विन कृष्ण चौथीमा भक्तपुर नगरपालिका–२ तेखापुखुका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुन्दा बालेर ल्याउँने र त्यही सुकुन्दामा भक्तपुर नगरपालिका–४ स्थित बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता (दुईवटा)बालेर नगर परिक्रममा गराउने गरिन्छ । इन्द्राजात्रामा जम्मा पाँच वटा याँमता जात्रा हुने गर्छ ।

को बन्छ मुपात्र ?

भक्तपुरको इन्द्रजात्रामा निकालिने मुुपात्र नेवार समुदायको स्थानीय नभई उपत्यका बाहिरका व्यक्तिलाई बनाइने प्रचलन रहेको गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्द कर्माचायले जानकारी दिनुभयो । जात्रामा मुपात्र बन्ने व्यक्तिको जात जाने र खाना, पानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । मुपात्र बन्ने व्यक्तिलाई अछूतको व्यवहार गरिने हुँदा मुपात्र बन्ने व्यक्ति हतपत भेटाउन सकिंदैन । यही कारण उहिलेदेखि नै उही मानिसलाई नै ज्याला दिएर मुपात्रा बनाउने गर्दै आएको कार्यालय प्रमुख कर्माचार्य बताउनुहुन्छ ।

टोलटोलका यमद्यो स्थानीय टोलवासीले ठहराइन्छ तर तीन दिन लगातार निस्किने अर्थात मुपात्र जात्रा ९मुुपात्र० अर्थात् दैत्य गुठी संस्थानबाट व्यवस्थापन गरिने गर्दछ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक उनका अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृङ्गारपटारका साथ तरवार समात्न लगाई नगर परिक्रमा गराउने प्रचलन रहेको प्रमुख कर्माचार्यले बताउनुभयो ।

जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्‍यो भने पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने जनविश्वास रहेको छ । पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकाल्ने परम्परा चलिआएको कर्माचार्यले बताउनुभयो ।

के हो पुुलुकिसी जात्रा ?

पुलुकिसी जात्रा भक्तपुरको इन्द्रजात्राको मुख्य आकर्षण हो । यो जात्रा इन्द्रजात्राको अन्तिम साँंझ हुने गर्दछ । यो दिन भक्तपुर नगरपालिका–५ लाकुलाछें टोलबाट पुुलुकिसी निकाल्ने गरिन्छ । लाकोलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी पुलुकिसी तयार गरिन्छ । यसलाई बोकेर मानिसले परिक्रमा गर्न सुरु गरेको हुन्छ ।

लाकोलाछेँबाट यसलाई टौमढीमा लगिन्छ । टौमढीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु हुन्छ । जात्रामा पुलुकिसीलाई चार जनाले बोकेर ल्याउँछन् भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाउने परम्परा छ ।

यस्तो छ इन्द्रजात्राबारेको इतिहास

कला, संस्कृति भजन महागुथि भक्तपुरका संस्थापक अध्यक्ष संस्कृतिविद् डा। इन्दुल केसीका अनुसार येन्यापुन्ही ९इन्द्रजात्रा० को अर्थ इन्द्रको जात्रा हो । लोककथन अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई चतुर्मासको व्रत बस्नका लागि पारिजातको फूल आवश्यकता भएको हुन्छ । तर स्वर्गमा नपाएपछि इन्द्रले आफ्नो छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाउँछ ।

फूल खोज्दै जाने क्रममा दैत्यहरूको बगैँचामा परिजात फूल टिप्दै गरेको हुन्छ । त्यहीबेला राक्षसहरूले जयन्तलाई पक्राउ गरिन्छ । त्यसपछि दुई हात पछाडि बाँधेर चोकमा उभ्याएर राखेको हुन्छ । यो कुराको चाल पाएर इन्द्र छोरा जयन्तलाई राक्षसहरुको चुङ्गुलबाट छुटाउन प्रयास गर्छन् । यसका लागि इन्द्रले आफ्नो बहान हात्ती लिएर राक्षसहरूसँग युद्ध गर्न पृथ्वीमा पुग्दछन् । युद्धमा राक्षसलाई हराएर उनीहरूकै हातबाट डोरी काट्न लगाई छोरा जयन्तलाई छुटाएर लैजाने धार्मिक ग्रन्थ देवी पुराणमा उल्लेख भएको डा केसी बताउनुहुन्छ ।

भक्तपुरको इन्द्रजात्रा नगरका टोलटोलमा यमद्य ठडाएर सुरु हुन्छ । हप्ता दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन भक्तपुर नगरपालिका क्षेत्रका २१ टोलमा २१ वटा यस्ता लिङ्गोहरु उठाइएको हुन्छ । स्थानीय टोलवासी मिलेर यसरी यम द्यः उठाउने गरिन्छ । परम्परा अनुसार यो वर्ष स्थानीय टोलबासीले यमद्यो बिहीबार उठाएका छन् । करिब २० देखि ३० हात अग्लो हात भएका यमद्योहरु नगरका ठाउँठाउँमा ठड्याइएका हुन्छन् ।

नगरको सूर्यमढी, दतात्रय, गोल्मढी, सुकुलढोका, चासुखेल, नासमनालगायतका ठाउँठाउँमा यस्ता यम द्यो उठाइएका छन् । यसवर्ष भक्तपुरमा मुपात्र जात्रा असोज १२ गते सुरु भएर १४ गते समापन हुँदैछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>