चितवन विशेष
काँग्रेस महाधिवेशन प्रतिनिधिमा खुल्ला उम्मेदवार दिँदै साजनकुमार महतो

चितवन, असोज ८-
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि खुलातर्फका उम्मेदवार साजनकुमार महतोले चितवनको राजनीतिक तथा सामाजिक क्षेत्रमा आफ्नो नेतृत्वदायी पहिचान स्थापित गर्दै आएका छन्। नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका महतोले लामो समयदेखि पार्टी संगठन र सामाजिक क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको राजनीतिक यात्रामा नेपाल तरुण दल चितवनको संगठन निर्माणदेखि नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ताको जिम्मेवारीसम्मको अनुभव रहेको छ।
महतो नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवारसमेत बनेका थिए। राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका उनले तत्कालीन जिल्ला विकास समितिअन्तर्गत जनजाति समन्वय समितिको उपाध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। उनले उक्त भूमिकामार्फत आदिवासी जनजाति समुदायको उत्थान र अधिकारका विषयमा काम गरेको बताइएको छ।
महतोको सामाजिक नेतृत्वको अर्को महत्वपूर्ण पक्ष चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पटिहानी मध्यवर्ती उपभोक्ता समितिसँग जोडिएको छ। समितिमा लामो समयदेखि कायम रहेको नेतृत्वको परम्परालाई परिवर्तन गर्दै उनी अध्यक्षमा निर्वाचित भएका छन्। स्थानीय तहमा उनको सामाजिक सक्रियता र जनसम्पर्कसँग जोडेर हेर्ने गरिएको छ।
यसका साथै महतोले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शिक्षा क्षेत्रको विकासमा समेत भूमिका निर्वाह गरेका छन्। पटिहानी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा स्थानीय विकासका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका उनले विभिन्न संघ–संस्थामा नेतृत्वदायी जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।
स्थानीय विकास, पर्यटन प्रवर्द्धन, सामाजिक सहभागिता र पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका महतोले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनका समर्थकहरूले सामाजिक तथा राजनीतिक क्षेत्रमा लामो समयको अनुभव, संगठनसँगको निरन्तर सम्बन्ध र स्थानीय तहमा सक्रियतालाई उनको उम्मेदवारीका प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन्।























