देश/प्रदेश
अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य

म्याग्दी,असोज ७ –
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले लगातार तेस्रो आर्थिक वर्षसम्म घरमा हुने प्रसूतिलाई शून्यमा कायम गर्न सफल भएको छ । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्णले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो ।
असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार तेस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको जनस्वास्थ्य निरीक्षक समुन्द्र बरुवालले जानकारी दिनुभयो ।
“अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो तीन वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”
यहाँ आर्थिक वर्ष २०८२\८३ मा ९१ जना, २०८१\८२ मा ७९ र २०८०\८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । गत आवमा सुत्केरी भएका ९१ जनामध्ये २५ जनाले गाउँपालिकाभित्रकै सङ्ख्याबाट सेवा लिएका थिए ।
आव २०७९\८० मा १३९ मध्ये १३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८\७९ मा पालिकामा १२७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताउनुभयो ।
गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उहाँले बताउनुभयो । तोकिएको मितिमा चारपटक गर्भ परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ ।
सुत्केरी भएपछि पनि तीनपटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पीठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ । गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दानाबाहेक भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।रासस

























