खेलकुद
थाइल्यान्डलाई १९ रनमा समेट्दै नेपाल समूह विजेता ,सेमिफाइनलमा प्रवेश

काठमाडौं,कात्तिक १७ –
थाइल्यान्डमा जारी महिला टी–ट्वान्टी स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टर्डथाइ क्रिकेट मैदानमा आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर १९ रन मात्रै बनायो । उसका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । थान्चानोक फुप्लुकले बनाएको चार रन नै टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो ।
थाइल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भए भने ६ खेलाडीले मात्रै रन बनाउन सके । टोलीले बनाएको कुल १९ रनमध्ये ब्याटरहरूको योगदान १२ रन थियो भने अतिरिक्तबाट सात रन प्राप्त भएको थियो ।
नेपालका लागि आरती विडारीले तीन विकेट लिइन् । सरिता मगर र इन्दु बर्माले समान दुई–दुई विकेट लिए ।
२० रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि ममता चौधरीले आठ रन बनाइन् । नेरी थापा पाँच र डोली भट्ट दुई रनमा अविजित रहे ।
समूह चरणमा नेपालले शतप्रतिशत जित निकालेको छ । यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा यूएईलाई पनि ६ विकेटले पराजित गरेको थियो । चारवटै खेल जित्दै नेपाल समूह विजेता बनेको हो ।
























