देश/प्रदेश
चौठचन्द्र (चौरचन) पर्व सम्पन्न

जनकपुर ,भदौ ३०
मिथिलाञ्चलमा सोमबार चौठचन्द्र पर्व मनाइएको छ । पर्वका अवसरमा घरघरमा चन्द्रमा र भगवान् गणेशको पूजा गरी विभिन्न फलफूल तथा प्रसाद चढाएर चन्द्र दर्शन गरिएको छ ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्वमा व्रत बसेका श्रद्धालुले साँझ आँगन वा दलानमा अरिपन बनाई दुई वटा कलश राखेर पूजा गरेका थिए । थालीमा खीर तथा डालीमा विभिन्न प्रकारका प्रसाद सजाएर पण्डितद्वारा मन्त्र उच्चारणसहित पूजा गरेपछि चन्द्र दर्शन गरी व्रत समापन गरिएको थियो ।
पर्वमा दही, खजुर, पिरिकिया, खाजा, नरिवल, काँक्रो, स्याउ, केरा, केराउलगायतका सामग्री प्रसादका रूपमा चढाइएको थियो । चामलको खीर, गहुँको आँटाबाट बनाइएका परिकार, दही तथा स्थानीय फलफूलको प्रयोग गरिएको थियो । ओलको चटनीलाई समेत चौठचन्द्र पर्वमा विशेष महत्त्व दिइन्छ ।
चौठचन्द्रमा फलफूल लिएर चन्द्र दर्शन गरेमा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने धार्मिक विश्वास छ । चन्द्र दर्शन गर्नुअघि भगवान् गणेश र चन्द्रमासँग सम्बन्धित धार्मिक कथा सुनाउने परम्परा समेत रहेको छ ।
धार्मिक कथाअनुसार भगवान् गणेशको स्वरूप देखेर चन्द्रमा हाँसेपछि गणेशले चन्द्रमालाई श्राप दिएका थिए । पछि गणेशको पूजा गरेपछि चन्द्रमा श्रापबाट मुक्त भएको विश्वास गरिन्छ ।
चौठचन्द्रसँग भगवान् श्रीकृष्णसम्बन्धी कथा पनि जोडिएको छ । सम्यन्तक मणिको खोजीका क्रममा जाम्बवन्तसँग २७ दिनसम्म युद्ध गरेपछि श्रीकृष्णले मणि प्राप्त गरेको र सोही क्रममा जाम्बवतीसँग विवाह गरेको धार्मिक कथन छ । यस घटनासँगै श्रीकृष्णमाथि लागेको कलंक हटेको विश्वास गरिन्छ ।
यिनै धार्मिक विश्वासका आधारमा चौठचन्द्र पर्वमा फलफूल लिएर चन्द्र दर्शन गर्ने परम्परा रहिआएको छ । मिथिलाञ्चलका घरघरमा मनाइने यो पर्वले धार्मिक आस्थासँगै पारिवारिक एकता र स्थानीय कृषि संस्कृतिलाई समेत जोड्दै आएको छ ।
























