देश/प्रदेश

तीजमा व्रतभन्दा स्वास्थ्य र आत्मीयता, गहनाको तडकभडकभन्दा आफ्नै रोजाइ

Banner

सन्तोषी रावल,

काठमाडौं, भदौ २८

तीजमा श्रीमानको दीर्घायूको कामना गर्दै व्रत बस्ने परम्परा रहेपनि यसका बारेमा विभिन्न कोणबाट वहस हुँदै आएको छ ।

एक दिन भोकै बस्दैमा श्रीमानको आयू लामो नहुने भन्दै स्वास्थ्यकर खानेकुरा दिने, बिरामी हुँदा हेरचाह गर्ने र माया तथा सहयोग कायम राख्नुपर्नेमा महिलाहरूले जोड दिएका छन् । उनीहरुले पेट भोकै राखेर ब्रस्त बस्दा स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने उनीहरुको सुझाव छ ।

उनीहरूका अनुसार तीज परम्परा र संस्कृतिको पर्व भए पनि त्यसलाई अन्धविश्वास वा बाध्यताका रूपमा लिनुभन्दा आफ्नो स्वास्थ्य, इच्छा र सहजतालाई प्राथमिकता दिनुपर्छ ।

अभिनेत्री स्वइच्छा पौडेलले श्रीमानप्रतिको माया र हेरचाह वास्तविक हुनुपर्ने बताउँदै बिरामी वा अप्ठ्यारो परेको बेला गरिने सच्चा स्याहारले सम्बन्ध र जीवनलाई बलियो बनाउने धारणा राखिन् ।

‘श्रीमानप्रतिको माया र हेरचाह वास्तविक हुनुपर्छ । एक दिनको भोकै व्रतले मात्र आयु बढ्ने होइन,’ उनले भनिन्, ‘बिरामी वा अप्ठ्यारो परेको बेला गरिने सच्चा स्याहारले सम्बन्ध र जीवनलाई बलियो बनाउँछ ।’

तीजमा झपक्क गहना लगाएर, महँगा पहिरनमा सजिएर मात्रै पर्व मनाउनुपर्छ भन्ने धारणा पनि गलत भएको उनीहरूको भनाइ छ । गहना र पहिरन व्यक्तिगत रोजाइ भएको भन्दै आफूसँग क्षमता छ र मन लाग्छ भने लगाउनु स्वाभाविक भए पनि अरूले लगाएको देखेर आफूले पनि त्यस्तै गर्नैपर्छ भन्ने सोच बदल्नुपर्ने उनीहरू बताउँछन् ।

श्रद्धा श्रेष्ठले महिलाको व्यक्तित्व, पहिचान र आत्मविश्वास गहनाले निर्धारण नगर्ने बताइन् । ‘आफ्नो क्षमता जे छ, त्यसैमा रमाउन सिक्नु नै सबैभन्दा ठूलो कुरा हो । हाम्रो व्यक्तित्व, पहिचान र आत्मविश्वासलाई गहनाले निर्धारण गर्ने होइन,’ उनले भनिन्, ‘गहना लगाएरै खुसी मिल्छ भने त्यो उहाँहरूको व्यक्तिगत रोजाइ हो, त्यसमा रमाउन पाउनुपर्छ । तर अरूले लगाए भन्दैमा आफूले पनि देखासिकी गरेर लगाउनै पर्छ भन्ने सोच अब बदल्नुपर्छ ।’

ऋचा शर्माले तीज महिलाहरू एकै ठाउँमा भेला भएर खुसी साटासाट गर्ने, गाउने–नाच्ने र व्यस्त दैनिकीबाट केही समय विश्राम लिने अवसर भएको बताइन् ।

धार्मिक तथा सांस्कृतिक परम्परा आफ्नो ठाउँमा महत्वपूर्ण भए पनि कसैलाई सजिन र गहना लगाउन मन पर्छ भने आफ्नो इच्छाअनुसार रमाउन पाउनुपर्ने र मन नपर्नेलाई पनि त्यही रोजाइका लागि सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

‘तीज महिलाहरू एकै ठाउँमा भेला हुने र खुसी साटासाट गर्ने उत्कृष्ट अवसर हो । श्रीमानको दीर्घायुको कामना गर्ने र परम्परालाई जोगाउने हो । परम्परा हाम्रो पहिचान हो,’उनले भनिन्, ‘हरेक व्यक्तिको आफ्नो धारणा र रोजाइ हुन्छ । कसैलाई यो पर्व मनाउन वा सजिन मनपर्छ भने रमाउनुपर्छ । कसैलाई मन पर्दैन भने त्यो उहाँहरूको व्यक्तिगत विचार हो, त्यसलाई पनि सम्मान गर्नुपर्छ ।’

मुस्लिम समुदायकी असिवन बेगुमले धर्म फरक भए पनि नेपाली समाजको विविधतामा एकताको भावनालाई आत्मसात् गर्दै सबै नेपाली चाडपर्व र परम्परालाई सम्मान गर्ने बताइन् ।

उनले आफूले गायिका सुनिता दुलालको तीज गीतमा रातो साडी र रातो चुरा लगाएर अभिनय गरेको स्मरण गर्दै नेपाली संस्कृतिप्रति आफ्नो अपनत्व रहेको बताइन् ।

उनले भनिन्,‘मैंले भर्खरै मात्र सुनिता दुलालको तीज गीतमा अभिनय गरेर आएकी छु । रातो साडी र रातो चुरा लगाएर छमछमी नाचेकी पनि छु,’ उनले थपिन् ‘म हरेक नेपालीले मनाउने चाडपर्व र परम्परालाई उत्तिकै सम्मान र आत्मसात् गर्छु ।’

उनीहरूको साझा धारणा तीजको खुसी गहना, महँगा पहिरन वा देखासिकीमा नभई आफ्नै क्षमता, इच्छा, स्वास्थ्य, आत्मीयता र आत्मविश्वासमा हुनुपर्ने भन्ने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>