चितवन विशेष
नारायणी नमुना माविका शिक्षक अधिकारीको अभियानः ट्युसन पढाउँदै, राहत कोषमा रकम जुटाउँदै

चितवन, भदौ २५-
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भइरहेका बेला विद्यार्थीलाई शिक्षासँगै मानवीय संवेदना र राष्ट्रियताको भावना सिकाउने उद्देश्यले ‘यसपालिको पढाइ, देशका लागि’ अभियान सञ्चालन गरिएको छ ।
नारायणी नमुना माध्यमिक विद्यालयका शिक्षक विशाल अधिकारीको पहलमा भदौ २१ गतेदेखि कक्षा ८ र १० का विद्यार्थीका लागि ३० दिने निःशुल्क गणित कक्षा सञ्चालन गरिएको हो। फेसबुक लाइभमार्फत हरेक साँझ ९ बजेदेखि ९ः३० बजेसम्म कक्षा सञ्चालन हुने आयोजकले जनाएको छ।
अभियानको मुख्य उद्देश्य विद्यार्थीको पढाइलाई सामाजिक सेवा र राष्ट्रिय दायित्वसँग जोडिएको उहाँले बताउनुभयो । अभियानअन्तर्गत विद्यार्थीले ३० दिनको अवधिमा गणितका अभ्यास गरेका पृष्ठ (पेज) का आधारमा अभिभावकले आफ्ना छोराछोरीको नामबाट प्रधानमन्त्री विपद् कोषमा सहयोग गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीले कम्तीमा १०० पृष्ठ अभ्यास गर्ने लक्ष्य राखिएको छ।
अभियानकर्ता शिक्षक अधिकारीका अनुसार विद्यार्थीले गरेको मिहिनेतलाई विपत्तिमा परेका नागरिकको सहयोगसँग जोडेर उनीहरूमा सेवाभाव र राष्ट्रियताको भावना विकास गराउने उद्देश्यले अभियान सुरु गर्न लागिएको हो।
उहाँले भन्नुभयो, “यो ३० दिने कक्षा केवल गणितका सूत्र र हिसाब मिलाउने थलो मात्र होइन। बालबालिकाले आफ्नै मिहिनेतको कदरस्वरूप विपत्तिमा परेका देशवासीलाई सहयोग गर्ने संस्कार सिकून् र राष्ट्रियताको भावना महसुस गरून् भन्ने हाम्रो चाहना हो।”
हाल कक्षा ८ र १० को गणित विषयबाट सुरु गर्न लागिएको अभियानलाई आगामी दिनमा अन्य कक्षामा समेत विस्तार गर्ने योजना रहेको छ। साथै, थप विषयलाई पनि अभियानमा समेट्दै लैजाने तयारी रहेको अधिकारीले बताउनुभयो । बाढीपहिरोजस्ता विपद्का कारण कठिन परिस्थितिमा पनि विद्यार्थीलाई शिक्षासँग जोडिराख्नुका साथै उनीहरूमा सहयोग र मानवीय संवेदनाको भावना विकास गर्न अभियानले योगदान पुर्याउने विश्वास लिएको बताउनुभयो ।
अभियानकर्ता अधिकारीले अभिभावकहरूलाई आफ्ना बालबालिकाको पढाइमा साथ दिन र उनीहरूको मिहिनेतलाई विपत्तिमा परेका नागरिकका लागि सहयोगमा रूपान्तरण गर्न अभियानमा सहभागी हुन आग्रह गरेका छन्।


























