चितवन विशेष
बालकुमारी माविमा शुद्ध पिउने पानी परियोजना हस्तान्तरण

नारायणगढ, भदौ २५-
नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा संयुक्तरूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजना विद्यालयलाई हस्तान्तरण गरेका छन्।
रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट रोटरियन प्रोफेसर डाक्टर ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा परियोजना हस्तान्तरण गरिएको हो। कार्यक्रम नारायणगढ रोटरी क्लबका अध्यक्ष रोटरियन रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो।
विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि स्वच्छ तथा शुद्ध खानेपानीको व्यवस्थापन गर्न सकिएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष गजुरेलले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि ढकालले रोटरी डिष्ट्रिक्टको लक्ष्यअनुरूप नारायणगढ रोटरी क्लबले विद्यार्थीको स्वास्थ्यमा विशेष ध्यान दिँदै शुद्ध पिउने पानीको व्यवस्था गर्न सहयोग गरेकोमा खुसी व्यक्त गर्दै क्लब तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए। क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजनाका विषयमा जानकारी गराए। दाताहरूको तर्फबाट पूर्वप्रधानाध्यापक सरस्वती रिजालले मन्तव्य राखे। त्यसैगरी, स्पाउज क्लब अफ आरसी नारायणगढकी अध्यक्ष डा। सुरक्षा श्रेष्ठले विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने शुद्ध पिउने पानी परियोजनामा नारायणगढ रोटरी क्लबको सहयोगी संस्थाका रूपमा काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि समयसापेक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
परियोजना निर्माणका लागि नारायणगढ निवासी आनन्द मल्ल पिया र शान्ति पियाले आफ्नी फुपू स्वर्गीय मायादेवी पियाको स्मृतिमा सहयोग गरेका थिए। परियोजनालाई मूर्तरूप दिन विद्यालयकी पूर्वप्रधानाध्यापक सरस्वती रिजालको समेत सहयोग रहेको जनाइएको छ। परियोजनाका सहयोगी संस्थामा रोटर्याक्ट क्लब अफ नारायणगढ, रोटरी क्लब अफ पाटन साउथ तथा बालकुमारी अल्मुनाई एसोसिएसन रहेका छन्। कार्यक्रमका सञ्चालक तथा क्लबका पूर्वअध्यक्ष रमेश श्रेष्ठले परियोजनासम्बन्धी जानकारी दिँदै सहयोगी संस्थाहरूको भूमिकाबारे उल्लेख गरे।
कार्यक्रमको संयोजन नारायणगढ रोटरी क्लबका तर्फबाट उपाध्यक्ष विकास सापकोटा र स्पाउज क्लब अफ आरसी नारायणगढका तर्फबाट अनुराधा पन्तले गरेका थिए। परियोजना सफलतापूर्वक सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्न पाएकोमा क्लबका निवर्तमान अध्यक्ष रोटरियन सेवन पन्तले सबै सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीका साथै नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ, सुसनलाल प्रधान र अनुकूल श्रेष्ठ, उपाध्यक्ष सङ्गीता गुरुङ तथा सदस्य कृष्णप्रसाद सुवेदीको उपस्थिति थियो। स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल, पूर्वअध्यक्षहरू सम्झना प्रधान र पूर्णिमा श्रेष्ठ, निवर्तमान अध्यक्ष दुर्गा श्रेष्ठ तथा सचिव अञ्जु प्रधानलगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।


























