कृषि
बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती

गोरखा, भदौ २५ –
बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यावसायिक खेती सुरु भएको हो ।
स्थानीय उहिया कृषक आमासमूहको नेतृत्वमा वर्षौंदेखि बाँझो बसेका पाखा, पखेरामा मार्सी धानको खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताउनुभयो । “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखेरोमा समूह गठन गरेर मार्सी धान लगाउन सुरु ग¥र्यौं”, उहाँले भन्नुभयो, “सामूहिक रुपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो । बाँझो जमिनको पनि सदुपयोग भयो ।” समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धानखेती सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
घलेका अनुसार समूहले पहिलो वर्ष २१ मुरी धान उत्पादन गरेको थियो । दोस्रो वर्ष ३० मुरी र यस वर्ष भने करिब ५० मुरी मार्सी धान उत्पादन भएको उल्लेख छ ।
‘यसवर्ष हामीले खेती गर्ने जमिन पनि बिस्तार गरेका थियौँ । यो वर्ष ४० रोपनी क्षेत्रफलमा धान लगाएकामा ५० रोपनी मार्सी धान फलेको छ”, समूहकी प्रमिना घलेले भन्नुभयो ।
उहाँका अनुसार समूहले मार्सी धान भित्र्याएलगत्तै खाली बस्ने जमिनमा फापरखेती गर्छ । आफूहरुले उहियामा उत्पादन हुने र बजारमा उच्च माग रहेका मार्सी धान र फापरखेती गर्दै आएको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “बजारमा यसको माग पनि उच्च छ । यहाँको उत्पादन बजारसम्म पुर्याउन भने केही चुनौती छन् । मार्सी धान र फापर अन्य फलफूल, तरकारीजस्तो हत्तपत्त बिग्रँदैन । यसलाई यहीँ थन्क्याएर राख्न मिल्ने र पछि मागअनुसार पठाउन मिल्ने भएर पनि खेती गरेका हौँ ।” उहिया कृषक आमा समूहले कुटानी नभएको मार्सी धान र फापर क्रमशः पाथीको २२५ र ५०० रुपैयाँमा बिक्रीवितरण गर्दै आएको छ । समूहमा उहियाका २२ घरधुरी आबद्ध छन् ।
विगत वर्षमा पनि उहियामा मार्सी धानखेती गरिन्थ्यो, तर त्यसको उपयोग घरायसी रुपमा मात्र गरिन्थ्यो । तीन वर्षदेखि भने महिलाले व्यावसायिक उत्पादनका लागि सामूहिक रुपमा खेती सुरु गरेका स्थानीय कुमार घलेको भनाइ छ ।
“यहाँको रैथाने बाली कोदो, मकै, गहुँ आदिमा बाँदर लागेपछि त्यसको विकल्पमा मार्सी धान लगाउन थालेको हो”, घलेले भन्नुभयो, “यहाँ उत्पादन हुने रैथाने बाली मदिरा उत्पादनमा बढी प्रयोग हुने र त्यसले समाजमा विकृति फैलाउने भएकाले पनि महिलाले मार्सी धान उत्पादनलाई प्राथमिकतामा राखेको हुन् ।”
मार्सी धान पाक्न पनि कम समय लाग्ने र यसको उत्पादनले महिलाको आर्थिक स्थिति उकासिने उहाँले बताउनुभयो । रासस
























