कृषि
कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

बाँके,कात्तिक १८-
बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रुपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठूलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन् ।
‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रुपमा सल्लाह गरेर पहिलो अभ्यासका रुपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिनुभयो । “अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
तिहारमा बजारमा फूलको माग बढी हुने र भारतीय आयातित फूलले बजारको माग धानिरहेको उल्लेख गर्दै सञ्चालक आर्चायले यस खेतीका लागि धेरै तयारी गर्नुनपर्ने उल्लेख गर्नुभयो । सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हापिसल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार फुटाहामा पानी नजम्ने ठाउँ छनोट गरेर चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरिएको हो । तिहारअघि नै करिब रु ५० हजार बराबरको फूल बिक्री भएको जानकारी दिँदै उहाँले स्थानीयले अग्रिम बुकिङ गरेको बताउनुभयो । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको छ ।
पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरीखेतीलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको उल्लेख गर्दै आर्चायले धेरैजसो विषयमा आफूले ज्ञान राखेकाले कुनै निकायलाई हारगुहार गर्न नपरेको स्पष्ट गर्नुभयो । “पानी नजम्ने जग्गा छनौट गर्नुपर्छ र पानी धेरै भएको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपछ,” पुष्पखेतीबारे जानकारी दिदै उहाँले रासससँग भन्नुभयो ।
बर्षे झरीमा रोग र किराको व्यवस्थापन गरेर लोभलाग्दो रुपमा फूलको उत्पादन गरिएको आर्चायले बताउनुभयो । बजारीकरणको काम सामाजिक सञ्जालबाट नै भएको र त्यहाँबाट नै माग आएको उल्लेख गर्दै तिहारमा नेपालगञ्जको धम्बोझीमा माला र फूलको खुद्रा बेचबिखन हुने फिट फार्मले जनाएको छ ।
लुम्बिनी फ्लोरिकल्चर एसोसियसनका पूर्वसदस्य एवम् महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गर्नुभयो ।
उहाँले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको धारणा राख्नुभयो । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ ।
























