समाचार
पूर्वप्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रकरणको रिट सर्वोच्चबाट खारेज

काठमाडौं, भदौ २४-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रकरणको रिट सर्वोच्च अदालतबाट खारेज भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएपछि महाभियोगको औचित्य सकिने गरी रिट खारेज गरिएको छ ।
प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदी संलग्न संवैधानिक इजलासले महाभियोग प्रकरणको रिट खारेज गरिदिएको हो । पूर्वप्रधानन्यायाधीश राणामाथिको महाअभियोग जीवितै रहेको दाबी गर्दै प्रतिनिधिसभामा अघि बढाउन माग गरिएको थियो । राणाविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग भने पारित भएको थिएन ।
संघीय संसदका तत्कालीन महासचिव भरतराज गौतमले राणालाई निलम्बन फुकुवाको पत्र दिएपछि सर्वोच्च अदालत बारका तत्कालीन अध्यक्ष वरिष्ठ आधिवक्ता शाक्य, वरिष्ठ अधिवक्ता डा. पुण्यप्रसाद खतिवडा, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा भिन्नाभिन्नै रिट निवेदन दायर गरेका थिए ।
रिट खारेजी निर्णयको लिखित प्रति भने संवैधानिक इजलासबाट आउन बाँकी छ ।























