देश/प्रदेश
सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु

सुनसरी, भदौ २४ –
सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ ।
दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकामा उपचारका क्रममा निधन भएको थियो । मृतक थान्दार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
त्यसैगरी, धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मङ्गलबार साँझ मोटरसाइकल र सिटी सफारी आपसमा ठोक्किँदा इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते घिमिरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा हिजै निधन भयो । ती दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस
























