देश/प्रदेश
बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

काठमाडौं, भदौ २३-
भोटेकोशी बाढीपछि अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व, उपचार तथा पुनर्वासलाई तत्काल प्राथमिकता दिन नेपाल राष्ट्रिय अभिभावक संघले सरकारसँग आग्रह गरेको छ।
नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रीय अध्यक्ष कोषबहादुर जिसीले बाढीपहिरोका कारण परिवार तथा घरबार गुमाएका बालबालिकाको तत्काल व्यवस्थापनसँगै उनीहरूको शिक्षा निरन्तरताका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताएका हुन्।
भोटेकोशी बाढीपछिको शैक्षिक अवस्थाका विषयमा आयोजित पत्रकार सम्मेलनमा जिसीले अहिले विद्यालय तथा कलेज सञ्चालनभन्दा पनि प्रभावित परिवारको गाँस, बास र उपचारको व्यवस्था पहिलो प्राथमिकता हुनुपर्ने बताए।
उनले भने, ‘अभिभावक गुमाएका बालबच्चाहरूलाई अभिभावकत्व प्रदान गर्नु पहिलो कर्तव्य छ। राज्यले गर्ने कि स्थानीयले गर्ने, सरकारले गर्ने कि कुनै उद्योगपति, व्यापारी अथवा व्यक्तिविशेषले गर्ने, उनीहरूलाई पहिले गार्जियनसिप दिलाउने काम गर्नुप¥यो।’
बाढीका कारण कतिपय परिवार पूर्णरूपमा विस्थापित भएको र कतिपय बालबालिकाले बाबुआमा नै गुमाएको अवस्था रहेको उनले बताए। यस्तो अवस्थामा विद्यालयमा पठाउनुभन्दा पहिले बालबालिकाको सुरक्षित बसोबास र अभिभावकत्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
जिसीले तत्काल तीनवटा विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनका अनुसार प्रभावितको पुनर्वास, उपचार र अभिभावकत्व तत्काल सम्बोधन गर्नुपर्ने विषय हुन्।
उनले भने, ‘पुनर्वास र गार्जियनसिपको कुरालाई पहिलो ध्यान दिनुहोला र उपचारको। तीनवटा कुरा चाहिँ तत्काल गर्नुपर्छ।’
बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिसहरू हराइरहेको उल्लेख गर्दै जिसीले वास्तविक क्षतिको विवरण संकलन र प्रभावित परिवारको पहिचानलाई समेत प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार सरकारी तथ्यांकमा हजारौँ मानिस हराइरहेको उल्लेख भए पनि वास्तविक संख्या अझ बढी हुनसक्ने स्थानीयस्तरबाट जानकारी आएको छ।
विद्यालय तथा कलेज तत्काल सञ्चालन गर्न पूर्वाधारको अभाव रहेको पनि उनले बताए। प्रभावित क्षेत्रका धेरै विद्यालय तथा कलेज क्षतिग्रस्त वा विस्थापित भएकाले शैक्षिक गतिविधि सञ्चालन गर्न समय लाग्ने उनको भनाइ छ।
‘स्कुल कलेज सर्न त लाग्छ सर, अझै महिनौँ दिन लाग्छ,’ स्थानीयबाट प्राप्त जानकारी उद्धृत गर्दै उनले भने, ‘कहाँ सम्भव छ त, ठाउँ छैन। पूर्वाधार नै केही छैन।’
जिसीले विद्यालय सञ्चालनअघि प्रभावित परिवारको स्वास्थ्य सुरक्षामा समेत ध्यान दिनुपर्ने बताए। बाढीपछि रोगव्याधि फैलिन सक्ने जोखिम रहेकाले प्राथमिक उपचार र सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनले बताए।
त्यस्तै, राहत सामग्री वितरण प्रभावकारी भए–नभएको स्थानीय तहबाट अनुगमन गर्नुपर्नेमा पनि संघले जोड दिएको छ। प्रभावित परिवारले खाद्यान्न, लत्ताकपडा तथा उपचारलगायत आधारभूत आवश्यकता प्राप्त गरे–नगरेको सुनिश्चित गर्नुपर्ने जिसीको भनाइ छ।‘पहिले पुनस्र्थापनको, पुनर्वासको व्यवस्था पहिलो नम्बरमा छ। उपचारको पहिलो, अनि त्यसपछि गएर पुनर्वास। उहाँहरूलाई पुनर्वास कसरी गराउनेरु’ उनले भने।
संघले बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि तथा आफ्ना प्रतिनिधिमार्फत आवश्यक सहजीकरण गर्ने जनाएको छ। अध्यक्ष जिसीले संघ आर्थिक रूपमा तत्काल ठूलो राहत उपलब्ध गराउन सक्ने अवस्थामा नरहे पनि मानवीय सहयोग, समन्वय र सचेतनामार्फत प्रभावित परिवारलाई सहयोग गर्ने बताए।
बाढीका कारण मानसिक रूपमा प्रभावित भएका व्यक्ति तथा परिवारलाई सामाजिक मनोपरामर्श आवश्यक रहेको पनि उनले बताए। अहिले प्रभावितहरू विभिन्न ठाउँमा विस्थापित भएकाले सामूहिक रूपमा भन्दा व्यक्ति तथा परिवारको अवस्थाअनुसार मनोपरामर्श उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
‘मान्छे आतंकित भाको छ, सन्त्रास भाको छ, मानसिक रूपमा विक्षिप्त भाको छ। यो विक्षिप्त भएकोलाई अलि राहत दिलाउने काम गरौँ,’ उनले भने।
संघले बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले गरेको घोषणाको स्वागतसमेत गरेको छ। बाढीका कारण बाबुआमा गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क अध्ययन तथा आवासको व्यवस्था गर्ने प्रदेश सरकारको घोषणालाई सकारात्मक कदमका रूपमा लिएको जिसीले बताए।
उनले सरकारका सकारात्मक कामको प्रशंसा गर्दै कमजोरी भए त्यसतर्फ खबरदारी गर्नुपर्ने बताए।
‘हामीले गरेका कामलाई सराहना पनि गरौँ, कमजोरीलाई औँल्याऊँ, खबरदारी पनि गरौँ र गर्ने कामलाई सराहना पनि गरौँ,’ उनले भने।
संघले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययनसमेत गरेको जनाएको छ। संघका प्रतिनिधिहरूले स्थानीय जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका व्यक्तिहरूसँग समन्वय गरी त्यहाँको शैक्षिक तथा मानवीय अवस्थाबारे जानकारी संकलन गरेका थिए।
अध्यक्ष जिसीले विपत्तिको समयमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै पक्ष प्रभावित परिवारको सहयोगमा जुट्नुपर्ने बताए।
उनले भने, ‘यस्तो आहातमा सबै एक, सबै नेपाली एक हुनुपर्ने अवस्था हुन्छ। हामीले यो वा त्यो नाममा कुनै पनि केही गर्दैनौँ। सबै हामीलाई दुःखमा साथ दिने, दुःखमा सहयोगी साथी हामी बन्छौँ।’
संघले आगामी दिनमा स्थानीय तह, जनप्रतिनिधि, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै प्रभावित परिवारको पुनस्र्थापना, बालबालिकाको अभिभावकत्व र शिक्षा निरन्तरताका लागि पहल गर्ने जनाएको छ।
























