देश/प्रदेश

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

०
Banner

जनकपुरधाम, कात्तिक १९ –

मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको अनुगमन तथा खाद्यवस्तुको नमुना परीक्षणबाट कैफियत देखिएपछि उनीहरूविरुद्ध सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालका अनुसार मुद्दा दायर गरिएकामध्ये बारा र पर्साका आठ, सप्तरी र सिरहाका तीन, महोत्तरीका दुई तथा धनुषाका एक व्यवसायी छन् । उनीहरूविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत कारबाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

खाद्य स्वच्छता कायम नगर्ने, खाद्यवस्तुमा मिसावट गर्ने, स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु उत्पादन तथा बिक्री गर्ने र म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको प्रमुख दाहालले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा मधेस प्रदेशका विभिन्न जिल्लाबाट खाद्य तथा दाना पदार्थ ऐन तथा नियमअनुसार १६४ नमुना सङ्कलन गरिएकामा पाँच वटाको परीक्षण प्रतिवेदन प्रतिकूल देखिएको थियो । ती नमुनाका आधारमा खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत कारबाही अघि बढाइएको हो ।

यसैगरी, खाद्य स्वच्छता कायम गराउने उद्देश्यले प्रदेशका विभिन्न जिल्लामा ६३२ खाद्य व्यवसायमा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ५६ खाद्य उद्योगमा कैफियत भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु १८ लाख २६ हजार जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

सो अवधिमा २०५ खाद्य तथा दाना उद्योग, १९५ होटल, रेस्टुरेन्ट तथा क्यान्टिनमा अनुगमन गरिएको र उपभोक्ताबाट प्राप्त २७ उजुरी सम्बोधन गरिएको प्रमुख दाहालले बताउनुभयो । उहाँका अनुसार तीन महिनाको अवधिमा २६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, ६८ उद्योगको अनुज्ञापत्र नवीकरण र ८४ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरिएको छ ।

नमुना परीक्षण, अनुज्ञापत्र जारी तथा नवीकरण र उद्योग स्थापनाका लागि सिफारिसलगायतका कामबाट रु १६ लाख २४ हजार १० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा उपभोगका लागि अयोग्य खाद्यवस्तु जफत गरी सरोकारवालाको रोहबरमा नष्ट गरिएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>