स्वास्थ्य

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

०
Banner

काठमाडौँ, कात्तिक १९ –

सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने जनशक्ति उत्पादन गर्न थालेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात प्रदेशका सात ठूला अस्पतालमा जलनको उपचार सेवा विस्तार गरेर सेवालाई थप प्रभावकारी बनाउन लागिएको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यसका लागि ती अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई एडभान्स बर्न केयर तालिमसमेत सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कोशीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेसको नारायणी अस्पताल वीरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीको भेरी अस्पताल नेपालगन्ज, कर्णालीको सुर्खेत अस्पताल र सुदूरपश्चिमको सेती अस्पतालमा जलन उपचार सेवा विस्तार गर्न थालिएको हो ।

मन्त्रालयले पहिलो चरणमा नारायणी अस्पताल वीरगञ्ज र सुर्खेत प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ३० दिनको जलन उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

मन्त्रालयले यसअघि उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई छदिने प्राथमिक जलन उपचार तालिम दिएको छ ।

तालिममा नारायणी अस्पताल, वीरगन्जबाट डा प्रदीपकुमार ठाकुर, नगेन्द्र महतो, तबसुम बेगम र यस्मिन खातुन तथा सुर्खेत प्रदेश अस्पतालबाट डा सोजन सापकोटा, रोशनी श्रेष्ठ, दलबहादुर विक र सुमन कँडेल गरी जम्मा आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता थियो ।

तालिमपश्चात् सो जनशक्तिले सम्बन्धित अस्पतालमा जलन वार्ड स्थापना गर्न, गुणस्तरीय जलन उपचार सेवा सुनिश्चित गर्न सेवाको विस्तार गर्ने छन् । तालिम मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पताल, कीर्तिपुरमा सञ्चालन गरिएको छ ।

महानिर्देशक डा पौडेलले क्रमशः अन्य प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तिहारपछि जलन उपचारसम्बन्धी तालिम दिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>