तनहुँ
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा

दमौली (तनहुँ), भदौ २२-
नारेश्वर ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित सो तालमा कायाकिङको व्यवस्था गरिएसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको हो ।
विशेषगरी बिदाका दिन तथा पछिल्ला केही दिनयता नारेश्वर तालमा दैनिक दुईदेखि ३०० सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् । शान्त र मनोरम वातावरणमा अवस्थित तालमा पर्यटकहरू ‘कायाकिङ’ गर्दै रमाउने गरेका छन् ।
तालको प्राकृतिक सौन्दर्यसँगै पछिल्लो समय थपिएको कायाकिङ गतिविधिले युवा तथा पारिवारिक पर्यटकलाई आकर्षित गरेको स्थानीय विजय दरैले बताउनुभयो । “परीक्षणकै क्रममा रहेको तालमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो । सामाजिक सञ्जालका कारण चर्चा पाएको छ,” उहाँले भन्नुभयो,, “केही दिनयता दैनिक दुईदेखि ३०० सम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।”
पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यवसाय तथा रोजगारीका अवसर पनि विस्तार हुने अपेक्षा छ । आसपासका स्थानीयले पर्यटकलाई थप सुविधा उपलब्ध गराउन यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । छोटो दूरीको घुमफिरका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ यो ताल ।
करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । तालको बाँध करिब आठ मिटर अग्लो छ भने औसत गहिराइ २।५ देखि तीन मिटरसम्म रहेको छ । लम्सालका अनुसार तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिनेछ ।
उहाँका अनुसार नारेश्वर ताललाई केवल पानी सञ्चय गर्ने संरचनाका रूपमा नभई कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । ताल निर्माणको उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु हो । तालमा जम्मा भएको पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताउनुभयो ।
दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
नारेश्वर ताललाई आगामी दिनमा व्यास नगरपालिकाको आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।
“नारेश्वर ताललाई घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आयआर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ । ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको उक्त तालको अनुमानित लागत करिब रु चार करोड छ ।
उक्त जलाशयलाई नगरपालिकाले केवल कृत्रिम तालका रूपमा नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सिर्जनालाई जोड्ने आधारका रुपमा लिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । रासस
























