देश/प्रदेश
बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत

दमौली (तनहुँ), भदौ २२-
व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको ८९ प्रतिशत भौतिक प्रगति र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
हालसम्म उक्त आयोजनामा रु पाँच करोड ६९ लाख तीन हजार ३३७ खर्च भएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मूल्य अभिवृद्धि करसहित आयोजना निर्माणका लागि रु ८ करोड ६४ लाख ७९ हजार २३६ मा ठेक्का लागेको थियो । २०८१ वैशाख १२ गते सम्झौता गरिएकामा २०८३ असोज ३१ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) को प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना अगाडि बढाइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
प्रमुख न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।
नगरपालिकाले आयोजना निर्माणका लागि २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौता अनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने छन् ।
जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार ८१४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ ।
जग्गा एकीकरण आयोजनामा २३१ लाभग्राहीका ३४७ कित्ता समावेश गरिएको छ ।
प्रत्येक जग्गाधनीहरुले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको छ । आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरुलाई अस्थायी जग्गाधनी प्रमाणपूर्जासहित जग्गा फिर्ता गरिनेछ ।
त्यसपछि पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने जनाइएको छ । रासस























