कृषि
महिलाको सक्रियतामा तरकारीखेती

बागलुङ, भदौ २२ –
बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् ।
बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनीहरूले गत आर्थिक वर्षमा रु ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन् ।
बागलुङ नगरपालिका स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ६५ हजार ६६ किलो तरकारी उत्पादन गर्न सफल भएका हुन् । तरकारीको बिक्रीबाट रु ३० लाख पाँच हजार आम्दानी भएको परियोजनाका म्यानेजर ममिता पुनले जानकारी दिनुभयो ।
पुनका अनुसार बागलुङ नगरपालिकाका–५ देखि १४ नम्बर वडासम्मको ७१ वटा तरकारी महिला समूह गठन भएका छन् । समूहमा एक हजार ७४३ घरपरिवार आबद्ध छन् । “नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाको मुख्य उद्देश्य विपन्न, दलित तथा जनजातिसहितका परिवारलाई स्वावलम्बी समूहमा आबद्ध गराई कृषि तथा पशुपालनमार्फत आयआर्जन बढाउनु रहेको छ”, पुनले भन्नुभयो, “७१ महिला समूहले प्लाष्टिक टनेलमार्फत तरकारीखेतीका लागि अनुदान दिइएको हो, उनीहरूलाई बीउबिजनदेखि कृषि उपकरण सहयोग गरी बचत गर्ने बानीको विकास गरिएको छ ।”
परियोजनाले तरकारी उत्पादन तथा जलवायुमैत्री पशु व्यवस्थापन तालिम, प्लास्टिक पोखरी सहयोग, समूह व्यवस्थापन तथा सहकारी सुशासनसम्बन्धी तालिम, कृषि उपकरण तथा मिनिटेलर सहयोग गरिएको छ । यस्तै, मासु व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । बानपा–१२ को ३० महिला परियोजनाअन्तर्गत तरकारीखेती, बाख्रापालनमा सहभागी भएको बागलुङ नगरपालिका–१२ तल्लो सराङ्गीका शर्मिला आचार्यले बताउनुभयो ।
परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ । जसमा ६१ वटा बीउबोका र ३०० वटा बीउपाठी रहेका छन् । किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा, उन्नत बीउ, मल्चिङ प्लास्टिक तथा विभिन्न प्राविधिक तालिममा सहयोग गरिएको छ । परियोजनाअन्तर्गत पाँचवटा आधारशिला तालिममा १२८ जना, सातवटा जलवायुमैत्री पशु व्यवस्थापन तालिममा १४० जना र तरकारी उत्पादन तालिममा ५५ जना सहभागी भएका छन् ।
समूहमा आबद्ध किसानले बचत तथा ऋण परिचालनसमेत गर्न थालेका छन् । समूहको बचत रु १२ लाख ८४ हजार ३८७ पुगेको छ । रु ११ लाख ६१ हजार १३० ऋण लगानी भएको परियोजनाले जनाएको छ ।
उक्त ऋण मुख्यगरी कुखुराका चल्ला तथा दाना खरिद र किराना पसल सञ्चालनमा लगानी गरिएको छ । बागलुङ नगरपालिकाले आत्मनिर्भर बागलुङ कार्यक्रमलाई कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, व्यावसायीकरण र किसानको आयआर्जनसँग जोडेर निरन्तरता दिइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । रासस
























