समाचार
बाढी प्रभावित ४० जना बालबालिका एसओएसको संरक्षणमा

काठमाडौं, भदौ २१-
बाढीका कारण अभिभावकविहीन भएका ४० जना बालबालिका एसओएसको संरक्षणमा आएका छन्। बाढी प्रभावित क्षेत्रका स्थानीय तहसँगको समन्वयमा ती बालबालिकालाई संरक्षणमा लिइएको एसओएसले जनाएको छ।
उनीहरूलाई आवास, खाद्यान्न, कपडा, स्वास्थ्य उपचार र शिक्षासहित आवश्यक आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढीका कारण परिवार तथा घर गुमाएका बालबालिकाका लागि मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यसम्बन्धी सहयोगसमेत आवश्यक रहेको बताइएको छ।
गत भदौं १० गतेको बाढीले करिब १७ हजार बालबालिका प्रभावित भएको अनुमान सरकारको छ। तीमध्ये करिब २ सय बालबालिकाको सर्वश्य गुमेको बताइएको छ। अभिभावक गुमाएका तथा तत्काल संरक्षण आवश्यक पर्ने बालबालिकाको पहिचान गरी सुरक्षित व्यवस्थापन गर्ने काम भइरहेको छ। बाढीपछि विस्थापित बालबालिकाको शिक्षा निरन्तरता, स्वास्थ्य अवस्था र मनोसामाजिक सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।
























